सूचनाको शक्ति - The Power Of Information

        

पार्टी फुटाउने गतिविधिमा छैन : राई

काठमाडौं । समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफु कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् । नेता राईले पछिल्लो समय आफुहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पारे ।

उनले भने, ‘मैले चार दिन अगावै भनेको थिए पार्टीमा मत भिन्नता छ । विवादहरु छन तर हामी भन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ र यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिए त्यो कुरा अहिले पनि छ ।’ उनले सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफूले थाहा पाउन नसकेको समेत बताए । उनले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए । उनले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशीको कुरा भएकोसमेत बताए ।

उनले भने, ‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो जुन संघर्ष गर्ने शक्तिहरु थिए एकठाउँमा यो घटनाले ल्याइदिएको छ । एउटा खुशीको खबर हो । यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा झनै उत्साह र उर्जा थपिएको छ । यसले थप मद्दत पुर्याउने छ र सम्पूर्ण उत्पीडित शक्तिहरुलाई एकजुट भएर सघाउन पनि अपिल गर्न चाहन्छु ।’ ठूला पार्टीमा झन ठूलो विवाद रहेको त्यसमा मिडियाको ध्यान नजाने तर सानो पार्टीमा चासो बढेको र यसले आफुमाथि लागेको आरोप दुर्भाग्यपूर्ण भएको उनले बताए । उनले पार्टीभित्र फरक मत रहने बित्तिकै पार्टी विभाजन नै हो भन्ने बुझाई राख्न नहुने बताए ।

उनले भने, ‘जुन पार्टीभित्र फरक मत राख्ने व्यक्तिहरुलाई अहिलेको नेपाली राजनीतिमा प्रचलन के छ भने फरक मत राख्ने भनेको यो पार्टी विभाजन नै या फरक धारणा नै सिर्जित भएर जान्छ । यो खास गरेर हामीजस्ता दलहरुमा अनि अरु ठाउँमा त ठूला दलमा फरक धारणा राख्ने र खुल्लै बक्तव्य जारी गर्ने भन्ने नेताहरु छन् । त्यसमा चाहिं मिडियाको ध्यान पर्दैन । तसर्थ यो दुर्भाग्यपूर्ण कुरा हो । मेरो केही कुराहरुमा फरक धारणा हो । त्यो फरक धारणालाई पाँच दिन अगाडि मैले भनेको थिएँ, यो पार्टी विभाजन होइन भनेर भनेको थिएँ । त्यही धारणा अहिले पनि छ ।’ सरकारले ल्याएको अध्यादेशका विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता राईले पार्टीले सार्वजनिक गरेको धारणा नै आफ्नो पनि धारणा भएको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १६:२२