बाँके । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीपछि रोकिएको नेपालगन्ज–बघौडा सडक निर्माणको काम सुचारु भएको छ । हुलाकी सडक योजना नेपालगन्ज अन्तरगत रहेको नेपालगन्ज–बघौडा सडकखण्डको सामाजिक दूरी कायम गर्ने गरी निर्माण कम्पनीले निर्माण शुरु गरेको हो ।
सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनले बन्दाबन्दीको नियम पूर्णरुपमा पालना गर्दै सीमित जनशक्तिको परिचालन गरी काम शुरु गरिएको हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामसागर हरिजनले जानकारी दिए । उनका अनुसार सरकारले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने निर्णय गरेपछि हुलाकी सडकको काम पनि निर्माण कम्पनीले बिहीबादेखि शुरु गरेको हो ।
मजदूरको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी सामाजिक दूरी बनाएर निर्माणको काम शुरु गरिएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिए । नेपालगन्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किमी कालोपत्रे भइसकेको बताउँदै उनले बन्दाबन्दी कारण रोकिएको काम तदारुकताका साथ अगाडि बढाउने गरी काम भइरहेको जानकारी दिए ।
अहिले निर्माण बाँकी रहेको नरैनापुर र कालाफाँटा क्षेत्रमा काम भइरहेको छ । बाँकी आठ किमीमध्ये चार किमी कालोपत्र लागि तयार भएको छ । थप चार किमी कालोपत्रको लागि तयारी भइहेको छ । कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्य अवस्थामा प्रभाव नपर्ने गरी कामको व्यवस्था मिलाइएको बताए ।
सरकारले सडक निर्माणको काम सामाजिक दूरी कायम गरेर पुनःसञ्चाल गर्न आग्रह गरे पनि फिल्डमा सुरक्षाकर्मी सकारात्मक नभएपछि निर्माण कम्पनीलाई सोमबार जिल्ला प्रशासन कार्यालय र हुलाकी सडक योजना कार्यालय नेपालगन्जबाट काम सञ्चालन अनुमतिको पत्र बनाइएको सूचना अधिकारी हरिजनले जानकारी दिए ।
हुलाकी सडक योजना कार्यालय नेपालगन्ज अन्तरगत बाँकेको नेपालगन्ज–बघौडा ४४, फत्तेपुर–बैजापुर २१ , दाङको लमही–कोइलाबास ३६, बर्दियाको बेलवा–राजापुर २६ र भुरीगाउँ–गुलरिया–मूर्तिया ३६ किमी लम्बाइको हुलाकी सडक निर्माण प्रक्रियामा छन् ।
सत्यपाटी ।