बाँके । सधैँ चहलपहल रहने यहाँका बजारहरु चार हप्तादेखि सुनसान जस्तै बनेका छन् । चहलपहल निकै कम हुने ग्रामीण क्षेत्रमा भने आजभोलि विशेष चहलपहल छ । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लङ्घनका लागि नभइ खेतबारीको गहुँ बाली भित्र्याउन किसानहरुको चहलपहल बढेको हो ।
गाउँघरमा बसेर अनावश्यक कुरा गर्ने फुर्सद यतिबेला कसैलाई छैन । बिहान सबेरै खेतमा पुगेर लहलाउँदो गहुँ काट्नु, खल्यानमा ल्याउनु र दाइँ गरी घर भित्र्याउनु अहिले दाङका सबै किसानहरुको दैनिकी बनेको छ । खेतबारीमा रहेको बालीले समेत ग्रामीण क्षेत्रका मानिसहरुलाई शारीरिक दुरी कायम राख्न तथा भेला नहुने अवस्था सिर्जना गरेको छ ।
बन्दाबन्दीका कारण सबै कार्यालय, बजार तथा उद्योग धन्दा बन्द रहेका कारण जागिरेहरु पनि आ–आफ्नो खेतबारीको गहुँ काट्न तल्लीन छन् । जसले गर्दा गहुँ स्याहार्न ज्यालामा मजदुर राख्न नपरेको कतिपय किसानहरु बताउँछन् । सामाजिक दुरी कायम गरेर बाली काट्न तथा दाइँ गर्दा सतर्क रहेर काम गर्न वडापालिकाहरुले सचेत गराइरहेका छन् ।
बन्दाबन्दीका कारण अन्यलाई आवतजावतमा कडाइ गरिए पनि खेतबारीमा रहेका बाली काट्ने र भित्र्याउनेलाई कुनै रोक नलगाइएको पालिकाहरुको भनाई छ । राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारुले अत्यावश्यक र कृषि कार्य गर्नका लागि शारीरिक दुरी कायम राख्दै सुरक्षित भएर काम गर्न सचेत गराइएको बताए ।
उनका अनुसार कृषि कार्य गर्दा कुनै रोकावट नगर्ने र त्यस्का लागि आवश्यक पर्ने ट्याक्टर र थ्रेसर प्रयोग गर्न रोकावट गरिएको छैन । वडाध्यक्ष थारुले किसानहरुले सचेत भएर सहज ढङ्गले काम गरिरहेको बताए । बाँकेका ८ वटै पालिकामा गहुँ खेती हुने गरेको छ । सबै पालिकाका किसानहरु अहिले गहुँ बाली काट्न र भित्र्याउन व्यस्त छन् ।
मौसममा आउने फेरबदलका कारण पनि उनीहरु बाली भित्र्याउन हतारिएका छन् । बन्दाबन्दीका कारण चैत्र मसान्तमै काटिसक्नुपर्ने गहुँ ढिलो गरि काटे पनि बन्दाबन्दीका कारण गहुँ झाँट्ने थ्रेसर मेसीन ल्याउन गाह्रो भएकोले गहुँ भित्र्याउन नपाएको नेपालगन्ज–२० तेलियनपुरका दीलिप काँदूले बताए ।
नेपालगन्ज–२० मनिकापुर रोशन यादवले भने, ‘जसोतसो थ्रेसर ल्याएर गहुँ झाँटौला तर, खेतबाट घरसम्म गहुँ लैजान पनि समस्या छ ?’ बन्दाबन्दीमा पनि बाँकेका किसानहरुलाई गहुँ भित्र्याउनै पर्ने बाध्यता छ । ‘गहुँ झर्न थाल्यो, यो बन्दले हामीलाई खान दिने होइन, अनि भित्र्याउनु पर्यो नि ?’ रोशनले भने ।
सरकारले बन्दाबन्दीको घोषणा गरी नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरे पनि बाँकेका अधिकांश ग्रामीण भेगका स्थानीय बिहानैदेखि खेतबारीको काममा व्यस्त देखिन्छन् । दैनिक गुजारका लागि भए पनि कृषि कर्ममा व्यस्त हुनुपर्ने बाध्यता रहेको बताउँछन्, नेपालगन्ज–२०, का कमरीलाल यादव ।
उनले गाउँका अधिकांश नागरिक बन्दाबन्दीबारे जानकार हुँदाहुँदै पनि समयअनुसार खेतीबाली गर्नुपर्ने बाध्यता रहेको बताए । जिल्लाका नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजार क्षेत्रमा बन्दाबन्दीको पालना गर्ने गरेका भए पनि कामकाजी किसान आफ्नो खेतबारीमा गहुँ, तोरी टिप्ने, काट्ने, झाँट्ने, भित्र्याउने तथा तरकारी बारीको काम व्यस्त छन् ।
ग्रामीण भेगका अधिकांश नागरिकको मुख्य पेशा नै कृषि भएकाले पनि उनीहरूले मल बोक्ने, आलु, मकै गोडमेल गर्ने, घाँस दाउराको जोहो गर्ने लगायतका कामलाई निरन्तरता दिइरहेका छन् । बन्दाबन्दीका कारण पाकेको गहुँ बारीमै झर्न थालेपछि यहाँका किसानहरुलाई बन्दाबन्दीमै भए पनि गहुँ भित्र्याउनै पर्ने चटारो परेको छ ।
एकाविहानै नजिकैको सामुदायिक वन छेउमा दर्जन बढी खसीबोका, तीन वटा भैसी र एक हल राँगा खेतमा लगेर चराइरहेका नेपालगन्ज–२१ तेलियनपुरका असगर मनिहारले कामकाजी किसानलाई बन्दाबन्दीले नछोएको बताए । उनले भने, ‘बस्तुभाउ नै हाम्रो सम्पत्ती हो । विहान बेलुका भैँसीको दुध दुहेर बेच्ने र त्यहीबाट आएको पैसाले घरखर्च चलाउने गर्छु ।’
यस्तै जानकी गाउँपालिकाको बढैया गाउँ नजिक खेतमा गाईभैसी तथा बाख्रा चराइरहेको दृष्यले किसानलाई आफ्नो भन्दा पनि आफ्नो बस्तुभाउको आहाराको चटारो रहेको प्रष्ट हुन्थ्यो । गाई बाख्रा, र गोरु चराउँदै गरेका दीलिप काँदूले भने, ‘बन्दाबन्दीका बारेमा सुनेको छु, तर, वस्तुभाउ चराउनकै लागि खेतसम्म आउनैपर्छ । गहुँ काटेर भित्र्याउनै पर्छ ।’
नेपालगन्ज उपमहानगरभित्रका गाउँहरु तथा सीमा जोडिएका पालिकाका गाउँहरुमा भने बन्दाबन्दीले ग्रामीण समुदायका नागरिकहरुको दैनिकीमा प्रभाव पारेको छैन । बन्दाबन्दीको समय घरमै सुरक्षित बस्ने, भीडभाडमा नजाने, नियमित सरसफाई गर्नेजस्ता क्रियाकलाप गर्न सरकारले आग्रह गरेको भए पनि गाउँमा भने खेतवारीको काममा व्यस्त भएको पाइन्छ ।
सत्यपाटी ।