सूचनाको शक्ति - The Power Of Information

        

भारतको एउटै अस्पतालका १९ जना नर्स कोरोना संक्रमित

नयाँदिल्ली । भारतको पुनेस्थित रुबी हल क्लिनिकका १९ नर्ससहित २५ स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ । तर उनिहरु सबैमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको अधिकारीहरुको भनाई उदृत गर्दै भारतीय मिडिया द हिन्दुले उल्लेख गरेको छ ।

अस्पतालमा कार्यरत एक हजार कर्मचारीमा पछिल्ला १५ दिनमा कोरोना भाइरस संक्रमणको परिक्षण गरिएको रुबी हल क्लिनिक प्रमुख कार्यकारी अधिकृत बोमी भोटेले बताएका छन् । संक्रमित सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ । भोटेका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालमा कार्यरत एक कर्मचारी कोरोना संक्रमणबाट उच्च प्रभावित क्षेत्रमा बस्ने भएकाले सबै कर्मचारीमाथि परिक्षण सुरु गरिएको रुबी हल क्लिनिक प्रशासनले जनाएको छ । गत अप्रिल १२ तारिखमा उक्त अस्पतालमा कार्यरत ४५ वर्षीया नर्समा कोरोना भाइरस संक्रमण देखिएको थियो । उनी विदा सकेर काममा फर्किएकी थिइन् । कोरोना संक्रमणको लक्षण देखिएपछि उनको परिक्षण गरिएको थियो ।

लगत्तै पुनेकै सेसुन अस्पतालमा कार्यरत चार जना नर्सलाई पनि कोरोना संक्रमण देखिएको थियो । अप्रिलको पहिलो साता पुनेकै एक अस्पताल र मेडिकल कलेजका चिकित्सक र नर्ससहित ४० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । दुर्घटना भएर अस्पतालमा उपचार गर्न पुगेका एक रिक्सा चालकलाई पछि परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पनि देखिएपछि अस्पतालमा कार्यरत नर्स र चिकित्सकलाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १९:३५