दाङ । मधुवन नगरपालिका–९ बर्दिया घर भएका डम्बर केसरीले दोस्रो पटक पनि रोटी र तरकारी थपे । भोक मेटीएको थिएन । चाउचाउ, चिउरा र पानी धेरै खादा उनलाई रोटी तरकारीको स्वाद बिरानोझैं लाग्न थालेको थियो । रोटी र तरकारीले घरको याद दिलाईदियो ।
‘घरमा भएको भएँ, भोक भोकै वस्नु पर्ने थिएन, जे जस्तो भए पनि खान पाईन्थ्यो’उनले भने–‘काभ्रे बाट हिडेदेखी रोटी, तरकारी खाएको पहिलो पटक यहीं हो ।’ मजदुरहरुलाई राजमार्गमा निःशुल्क खानाको व्यवस्था गरिएको छ । यो काममा महिलाहरु अघी सरेका छन् । राजमार्गमा ट्रक, वसबाट उद्धार गरेर पश्चिम लैजान थालिएका मजदुहरुले समेत यहाँ खाना खाने गरेका छन् ।
राजमार्ग छेउँको गाउँ । दिन रात मानिसहरु भोक भोकै राजमार्गमा हिंडिरहेको दृश्यले मन चस्कीयो । अनी भाकभोकै रहेका मानिसहरुको भोक मेटाउन जुटे लमही नगरपालिका वडा नं.२ डोढही र सिंगे गाउँका महिलाहरु । घर–घरबाट दाल, चामल, पिठो, तरकारी, तेल संकलन गरे।अनि त्यसपछी राजमार्ग नजिक मेस सञ्चालन भयो ।
पूर्व पश्चिम राजमार्गमा पैदल हिडेका र अलपत्र परेका मजदुरलाई हरेक दिन जसो यहाँ मेस सञ्चालन हुन्छन् । दाल, भात, तरकारी, पुडी, तरकारी र पानी खुवाउने गरिएको स्थानिय महिला शान्ता अचार्यले भनिन्, ‘काठमाडौंबाट घर फर्किने मजदुरहरु भोकभोकै, प्यासप्यासै रहेको थाहा पायौं । त्यसपछि हामीले उनिहरुको भोक मेटाउने उद्देश्यले मेस सञ्चालन गरेका हौं ।’ दैनिक दुई सय बढीले यहाँ मेसमा खाना खाने गरेका छन् ।
लकडाउनले गर्दा खाना खाने होटलहरु बन्दछन् । चाउचाउ, चिउराको भरमा राजमार्गमा यात्रा गरेका मजदुरलाई खाना खुवाउने काम गरिएको स्थानीय अगुवा लोकराज सेढाईले बताए । ‘राजमार्गमा अलपत्र परेका मजदुहरुको वारेमा सरकारले खासै वास्ता दिएको पाइएन् । त्यही भएर हामीले सक्ने जती सहयोग गर्नुपर्छ भनेर खाना, पानी खुवाउने काम गरेका हौं,’ उनले भने, ‘नियमित खाना खुवाउन अव स्थानीय सरकारले हाम्रो अभियानमा साथ दिनुपर्छ ।’
सत्यपाटी ।