बाँके । नेकपा बाँकेले प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर एकद्धार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । जिल्ला अध्यक्ष आइपी खरेलको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कार्यालय बैठकले आफुखुशी भइरहेको राहत वितरण कार्य तत्काल रोक्न स्थानीय प्रशासनलाई अनुरोधसमेत गरेको छ ।
नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालका अनुसार बैठकले कोरोनाको संक्रमण फैलिन नदिन जिल्लामा गरिएका प्रयास, जिल्लाको वर्तमान अवस्था र राहत वितरणको अनुगमनका लागि जिल्ला अध्यक्ष आइपी खरेल, सचिव अशोक कोइराला, कार्यालय सदस्य प्रमोद धिताल, अव्दुल हुसेन खान र अशोक कर्माचार्य रहेको पाँच सदस्यीय समिति गठन भएको छ ।
यसैगरी बैठकले आठवटै स्थानीय तहमा राहत वितरण लगायतका विभिन्न कामको अनूगमनका लागि फोकल पर्सन तोकेको छ । डुुडुवामा निरक गुरुङ, खजुरामा रत्न खत्री, नेपालगन्जमा डिल्लीप्रसाद बराल, जानकीमा पदम धिताल, बैजनाथमा दिपेन्द्र शाह, कोहलपुरमा रेणुका खड्का, राप्तीसोनारीमा अवराज खड्का र नरैनापुरमा सब्बिर खाँलाई फोकल पर्सन तोकिएको हो ।
बैठकले बाँकेका विभिन्न सडकमा गन्तव्यमा पुग्ने क्रममा देखिएका ब्यक्तिहरुको खाने बस्ने लगायतको ब्यवस्थाका लागि राजमार्गसँग जोडिएका स्थानीय तहलाई अनुरोध गर्दै स्थानीय पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको अवस्थामा सरकारद्धारा आमनागरिक,उद्योगी ब्यवसायी लगायतलाई राहत दिन भएको निर्णयको ब्यवहारिक कार्यान्वयनको माग गरेको छ ।
सत्यपाटी ।