सूचनाको शक्ति - The Power Of Information

        

राहत वितरण गर्न एकद्वार प्रणालीमा कडाई

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिने भएको छ । उपमहानगरपालिकाको समन्वयमा आज भएको सर्वदलीय र सर्वपक्षीय बैठकले एकद्धार प्रणालीबाट राहत वितरणका लागि कडाईका साथ कार्यान्वयन गर्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा भएको बैठकले राहत वितरण कार्यलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले राहत वितरणलाई सहज र प्रभावकारी बनाउन वडास्तरमा सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

यसैगरी बैठकले जिल्ला भित्रका पालिकाहरुमा जान चाहने ब्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा सहजरुपमा जान दिने निर्णय गरेको छ । बैठकमा उपमहानगरपालिकाका प्रमुख डा.राणाले राहत वितरण एकद्धार प्रणालीबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा स्थानीय सरकार भएको बताए ।

बैठकमा प्रदेश सांसद विजय यादव, मो.याकुव अन्सारी, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरवहादुर वली लगायत राजनीतिक दलका प्रतिनिधिहरुले राहत वितरणलाई प्रभावकारी बनाउन सुझाव दिए ।

बैठकमा वडाध्यक्षहरु सुनिलसिंह हमाल, मो.अयुव सिद्धिकी, बुद्धिसागर सुवेदी, विरेन्द्रबहादुर शाह, कार्यपालिका सदस्य कौसलकुमार धोवी लगायतले राहत वितरणमा आफुहरु पारदर्शी भएर काम गरेको भन्दै जनप्रतिनिधि सुरक्षित हुनुपर्नेमा जोड दिए । वडाध्यक्षहरुले एकद्वारबाट राहत वितरण गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १८:२०