बाँके । बन्दाबन्दीले नेपालगन्जका सीमान्तकृत घसियारा समुदायलाई भान्सामा बिहान बेलुकाको हातमुख जोर्न समस्या पर्दै गएको छ । सो समुदायका महिला घाँस काटेर, दुना टपरी गाँसेर र अरुको घरमा काम गरेर जीविकोपार्जन गर्छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ मा बाक्लो बसोबास रहेको घसियारा समुदाय शिक्षाको पहुँचबाट टाढा छन् । उक्त वडामा घसियारा समुदायको ३२ घरधुरी छ । बन्दाबन्दी लम्बिदा उनीहरुले घाँस काट्न पाएका छैनन् । साथै सालको पात उपलब्ध नभएपछि दुनाटपरी गाँस्न नपाएका कारण कमाउने माध्यम रोकिएर आर्थिक संकट परेको छ ।
‘बन्दाबन्दीले दुईछाक टार्न पनि गाह्रो भइसक्यो, वडा कार्यालयले दिएको चामल, दालले मात्र परिवारलाई कहाँ पुग्छ ? हाम्रो त बिचल्ली नै पो हुन लाग्यो,’ घसियारन मंगलीदेवीले गुनासो गरिन् । घाँस काट्ने सो जातिका केही व्यक्तिले घुम्ती तथा ठेलागाडा पसल पनि सञ्चालन गरे पनि बन्दाबन्दीले उनीहरुको पेशा चल्न नसक्दा थप आर्थिक संकटमा परेका छन् ।
घसियारनहरु बसोबास गर्ने नेपालगन्ज–८ कार्यालयले उनीहरुको जीवनस्तर माथि उठाउन आयआर्जनको योजना बनाए पनि अशिक्षा, आर्थिक पछौटेपन र परम्परागत कुरीतिका कारण यो समुदाय पुस्तौँदेखि अभावको जिन्दगी बाँच्न बाध्य भएको वडाध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले बताए । यस्तै, गुलरिया–बर्दिया जिल्लाको जंगल क्षेत्रमा बस्दै आएको सीमान्तकृत राजी जाति असुरक्षित बन्दै गएको छ ।
बारबर्दिया नगरपालिका–३ खुरखुरे फाँताको जंगलमा १० वर्षदेखि बसोबास गर्दै आएको २५ घरधुरी सीमान्तकृत राजी जातिको सुरक्षित बासस्थानका लागि कसैको ध्यान पुग्न सकेको छैन । जंगलमा कन्दमूल खोज्ने र नदीमा माछा मारेर जीविकोपार्जन गर्ने सो समुदायको मुख्य पेशा भने नदीको घाटमा डुङ्गा चलाउनु हो ।
जंगल संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले कडाइ गरेपछि भने राजीको जीविकोपार्जन गर्ने परम्परागत पेशा संकटमा परेको छ । उनीहरु जंगलबाट विस्थापन हुने अवस्थामा पुगेका छन् । बारबर्दिया–३ सदाशिव सामुदायिक वन उपभोक्ता समूहको खुरखुरे फाँताको जंगलमा २०६५ सालदेखि उनीहरु छाप्रो बनाएर बस्न थालेका हुन् ।
सामुदायिक वन उपभोक्ता समूहले गैरकानूनी तरिकाले वन क्षेत्रमा अधिकरण गरी घरटहरा बनाएर बस्न नपाउने भन्दै राजीहरुले बनाएका छाप्रो भत्काउनाका साथै आगो लगाइदिएको थियो । जिल्ला प्रशासन कार्यालय बर्दिया, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिले घटनाको अनुगमन गरी सर्वदलीय बैठकबाट तत्काल अर्को व्यवस्था नहुँदासम्म सोही क्षेत्रमै बस्न दिने सहमति पनि भएको थियो ।
यद्यपि समयसमयमा हावाहुरी चल्ने, आगलागी र रुख लडेर घर र मानवीय क्षति हुने भयले तिनलाई सताउँछ । एक वर्षअघि नजीकै सुकुम्बासीको घरमा ठूलो सालको रुख ढल्दा एक दलित महिलाको मृत्यु भएको थियो । खुरखुरे फाँतामा राजीसँगै अन्य जातिका सुकुम्बासी पनि बस्दैआएका छन् ।
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक निरञ्जन चौधरीले राजी समुदायलाई भनेर छुट्टै कुनै व्यवस्था नभएको तर प्रदेश सरकारको तराई–मधेश आवास कार्यक्रममार्फत बन्न लागेको सामूहिक आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिए । राजी बस्तीमा पुरुष परिवार पाल्न जिल्ला बाहिर र कतिपय भारतमा मजदूरी गर्न जान्छन् ।
बस्तीका घरमा महिला र बालबालिका मात्रै रहने गरेका छन् । स्थायी र सुरक्षित आवासको व्यवस्था हुन नसक्दा परम्परागत संस्कृति र संस्कृति मनाउन र घरव्यवहार चलाउन तथा स्वरोजगार व्यवसाय गर्न समस्या भोगिरहेको राजी अगुवा पार्वती राजीले बताइन् । रासस
नीरज गौतम ।