सूचनाको शक्ति - The Power Of Information

        

पार्टी फुट्ने हल्ला आधारहीन : सचिव राई

बाँके । समाजवादी पार्टीका सचिव एवम् पूर्वमन्त्री मोहमद इस्तियाक राईले समाजवादी पार्टीमा फुटको कुनै सम्भावना नरहेको दाबी गरेका छन् । समाजवादी पार्टीका सचिव राईले पार्टीहरूमा विवाद हुनु सामान्य भए पनि सबैभन्दा थोरै समस्या भएको पार्टी नै समाजवादी पार्टी रहेको दाबी गरे ।

‘विगतमा पनि मलाई विभिन्न खालका आरोप लगाइएको थियो । सरकार छोड्ने बेलामा मैले छोड्दिनँ भनेर पनि भनिएको थियो,’ उनले भने, ‘मैले पार्टी निर्णय अनुसार नै सरकारबाट राजीनामा दिएको हो । अनुमान गर्नेहरूको पछाडि लागेर सकिँदैन ।’ पार्टी फोड्ने र त्यसपछि सरकारमा जाने भन्ने हल्ला आधारहीन भएको समेत उनले बताए ।

बाँके क्षेत्र नं २ बाट निर्वाचित सांसद राई केपी ओली नेतृत्वको वर्तमान सरकारमा सहरी विकासमन्त्री थिए । उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीको असहमति बढेपछि गत मंसिरमा समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १३:२२