सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले भन्यो, ‘अनुपयुक्त अध्यादेशहरु फिर्ता लिनुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको बताएको छ । कोभिड–१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले ल्याएको अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ ।

सरकारले हिजो सोमबार ल्याएको ‘राजनीतिक दल सम्बन्धी’ र ‘संवैधानिक परिषद सम्बन्धि’ दुई अध्यादेशहरुप्रति राप्रपाले बिरोध जनाएको हो । सो पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सन्बन्धि अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो संभावना देखिने उल्लेख गरेको छ ।

यसैगरी संवैधानिक परिषद सम्बन्धि अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको जनाएको छ । संभावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्य माथि आईपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरु फिर्ता लिन राप्रपाले सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गरेको छ ।

यसैगरी राप्रपाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १३:०८