फाइल तस्वीर
बाँके । कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले लकडाउनका गरेको छ । लकडाउन भएपछि देशभर छरिएर रहेका ब्यक्तिहरु आफ्नो घर जान पैदल हिँडिरहकेका छन् । यसरी हिँडिरहेकाहरुको उद्दार गरी व्यवस्थापनमा बाँकेका स्थानीय तहहरु सक्रिय भएका छन् । लकडाउनकै सयममा विभिन्न स्थानबाट जिल्ला प्रवेश गर्ने पैदल यात्रुहरुको उद्दार गरी यहाँका स्थानीय तहहरुले सक्रियता देखाएको हुन् ।
राजमार्गमा अलपत्र परेका पैदल यात्रुलाई यहाँका स्थानीय तहहरुले गाडीको व्यवस्था गरेर गन्तव्यमा पु¥याइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले पनि विभिन्न स्थानबाट नेपालगन्ज पुगेर अलपत्र परेका नेपाली तथा भारतीय नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर नियमित स्वास्थ्य जाँच र खानपिनको व्यवस्थापन गरिरहेको छ । नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टाइनमा भारतबाट फर्केका नेपालीहरुलाई व्यवस्थापन गरिएको छ ।
त्यस्तै शुक्रबार मात्रै धादिङ्गको धार्केबाट हिँडेरै नेपालगन्ज आइपुगेका २९ बालबालिकासहित ५२ जना भारतीय नागरिकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेर नियमित स्वास्थ्य जाँच भइरहेको छ । उनीहरुलाई त्यहाँ १४ दिनसम्म राखेर कोरोना संक्रमण भए नभएको पुष्टि भएपछि मात्रै भारतीय अधिकारीहरुसँग छलफल गरेर भारत पठाइने नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमूख डा.धवलसम्शेर राणाले बताए ।
उक्त क्वारेन्टाइनमा रहेका पवन चौहानले धार्केबाट हिँडेर आउँदा पाएको दुख नेपालगन्ज आइपुगेपछि बिर्सिएको बताउनुभयो । दुई सन्तानसँगै नेपालगन्ज आइपुगेका चौहनले भने, ‘५२ जनाकै समुह ६ महिनाअघि धार्केस्थित सत्या इँट्टाभट्टामा काम गर्न पुगेका थियौं । दुई महिनादेखि इँट्टाभट्टाका मालिक नै सम्पर्कमा नआएपछि खानाको समस्या भयो । हामीहरु दुख नै सहेर घर जान हिड्यौं । यहाँ क्वारेन्टाइनमै राखिए पनि आराम गर्न पाएका छौं ।’
बाटोमा चाउचाउ खादै आफूहरु नेपालगन्ज आइपुगेको बताउँदै मुकेश चौहानले भने, ‘आँखाले देख्ने बेलासम्म हिड्थ्यौ । झमक्कै रात परेपछि सडकमै सुत्थ्यौ । विहानै फेरि हिडाई शुरु हुन्थ्यो । नेपालगन्ज पुगेपछि घरमै पुगेजस्तो भएको छ ।’ लगातारको लकडाउन र मालिक नै सम्पर्क नआएपछि उनीहरु बाध्य भएर हिँडेका मुकेशले बताए । उनले यहाँको सरकारले आफूहरुको व्यवस्थापन गरेकोमा खुशीसमेत व्यक्त गरे ।
उपमहानगरपालिकाका नगरप्रमूख डा.राणाले भारत लखिमपुर खिरीका ५२ जना भारतीय नागरिकहरु नेपालगन्ज पुगेलगत्तै उनीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको बताए । उनले भने, ‘जुन देशका नागरिक भए पनि आफ्नो ठाउँमा आइसकेपछि यस्तो कठीन अवस्थामा मानवीयताका हिसाबले पनि व्यवस्थापन गर्नुपर्छ । यो हाम्रो कर्तव्य र मानवीयता हो ।’
यस्तै बाँके र दाङको सिमाक्षेत्र शिव खोलाबाट आफ्नो गन्तव्यमा पुग्नका लागि हिँडिरहेका पैदल यात्रुलाई राप्तीसोनारी गाउँपालिकाले आफ्नो सिमासम्म पुर्याइरहेको छ । त्यहाँबाट कोहलपुर नगरपालिकाले बाँके–बर्दियाको मान खोलासम्म पुर्याउने गरेको छ । पैदल यात्रुलाई तीन दिनदेखि ट्याक्टर र ट्रकमार्फत गन्तव्यसम्म पुर्याउने ब्यवस्था मिलाइरहेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।
उनले गाउँपालिकाले दाङको सिमाबाट करिव ७५ किलोमिटर पश्चिममा पर्ने कोहलपुर बजारसम्म पैदल यात्रुलाई पुर्याउने काम गरिरहेको बताए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने, ‘लकडाउनको समय थपिएसँगै मानिसहरु राजमार्गमा पैदल हिड्न थालेपछि हामीले गाडीको व्यवस्था गरेर पैदल यात्रुलाई बोकेर गन्तव्यमा पुग्नका लागि सहज बनाएका छौं ।’
गाउँपालिकाले पैदल यात्रुको चाप बढेपछि तीन दिनदेखि ट्याक्टर र ट्रकको ब्यवस्था गरेर पठाइरहेको छ । लकडाउनमा चर्को गर्मीमा पैदल हिड्ने सर्बसाधारणलाई मानवीयताको ब्यवहार गरेको उहाँले सुनाए । राप्तीसोनारी गाउँपालिकाले गरेको जस्तै सबै स्थानीय तहले पैदल यात्रीलाई यसरी आ–आफ्नो सिमासम्म पुर्याउने ब्यवस्था मिलाएका छन् । जसका कारण पैदल यात्रुलाई केही राहत भएको छ ।
गाउँपालिकाले तीन दिनयता एक हजार ५०० बढीको उद्दार गरिसकेको बताइएको छ । गाउँपालिकाले पैदल यात्रुको उद्धार तथा व्यवस्थापन गरिरहँदा बाँकेको शम्शेरगन्जस्थित ब्यापारी, वन उपभोक्ता तथा स्थानीयहरुले खाना खुवाउने ब्यवस्था मिलाउँदै आएका छन् । राप्तीसोनारी उद्योग ब्यापार संघका अध्यक्ष टिकाराम ढुंगानाले पैदल यात्रुलाई खाना खुवाउने ब्यवस्था मिलाएको जानकारी दिए ।
राप्तीसोनारीले कोहलपुर बजारसम्म पुर्याएका पैदल यात्रुलाई कोहलपुर नगरपालिकाले आफ्नो सिमासम्म पुर्याउन थालेको छ । ‘सम्बन्धीत स्थानीय तहहरुसँग समन्वय गरेर पैदल यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने काम गरिरहेका छौं,’ कोहलपुर नगरपालिकाका नगर प्रमूख लुटबहादुर रावतले भने । पूर्वमा शिव खोलादेखि पश्चिममा कोहलपुर नगरपालिकाकाको सिमाना ७१ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकाभित्र पर्दछ ।
यसअघि चितवनबाट १२ दिन हिडेर बाँके आइपुगेका भारत नानपाराका ६७ जनालाई हवलदारपुरस्थित राम माविमा टेन्ट टाँगेर राखिएको छ । उनीहरुको पनि नियमित स्वास्थ्य जाँच भइरहेको कोहलपुर नगरपालिकाका नगर प्रमूख रावतले बताए । नेपाल र भारतका सीमावर्ती अधिकारीहरुले नेपालमा रहेका भारतीयलाई नेपाल र भारतमा रहेका नेपाललाई भारत सरकारले क्वारेन्टाइनमा व्यवस्थापन गर्ने सहमति छ ।
सत्यपाटी ।