काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायीरुपमा प्रतिबन्ध लगाउने भएका छन् । सुरुवातदेखि नै आप्रवासीप्रति कडारुपमा प्रस्तुत भइरहेका ट्रम्पले अहिले कोरोना भाइरस महामारीका कारण यस्तो निर्णय गर्न लागेका हुन् ।
उनले अमेरिकामा प्रवेश रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । यसअघि पनि ट्रम्प आप्रवासीप्रति आक्रामक थिए । उनले अमेरिकाले डिपोर्ट गर्न चाहेका विदेशी नागरिकलाई आफ्नो देश फर्काउन नचाहने देशलाई भविष्यमा भिसामा प्रतिबन्धसमेत लगाउन सक्ने चेतावनी दिएका थिए ।
अहिले कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन् । ट्रम्पको यो निर्णयसँगै अब अमेरिकामा बसोवास गर्न जान चाहने कसैले पनि प्रवेश पाउने छैनन् ।
अमेरिकामा आप्रवासनसम्बन्धि सबै प्रक्रिया रोकिएको छ । यसले नेपालसहितका मुलुकबाट डिभी चिठ्यामार्फत अमेरिका प्रवेश गर्नेहरुले समेत प्रवेश पाउने छैनन् । यसबाहेक अमेरिका बसोवासका लागि भिसा लागिसकेका, तेस्रो देश शरणार्थी पुनर्स्थापनाका कार्यक्रमका आप्रवासी तथा पर्यटकले समेत प्रवेश पाउने छैनन् ।
ट्रम्पले ट्वीटरमा भनेका छन्, ‘अदृश्य शत्रुको हमलालाई मध्यनजर गर्दै र ग्रेट अमरिकी नागरिकको रोजगार बचाउनका लागि म अमेरिकामा आउने र बस्नमा रोक लगाउनसक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु ।’ यद्यपि यो आदेश कसरी कार्यान्वयन गरिन्छ भन्ने खुलाइएको छैन ।
सत्यपाटी ।