सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी : एक लाख ७० हजारको मृत्यु

फाइल तस्वीर

एजन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण ज्यान गुमाउनेको संख्या लगातार बढ्ने क्रम जारी छ । इटाली, स्पेन तथा फ्रान्समा कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या केही दिनयता कम हुँदै गएका छन् । तर सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा दैनिक १९ सयको हाराहारीमा मानिसको ज्यान गइरहेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट कम्तिमा ४२ हजार १३८ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा कुल संक्रमितको संख्या सात लाख ८४ हजार ५९९ पुगेको छ । यस्तै इटालीमा अहिलेसम्म २४ हजार ११४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ८१ हजार २२८ पुगेको छ ।

स्पेनमा संक्रमितको संख्या दुई लाखभन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म स्पेनमा २० हजार ८५२ जनाको ज्यान गएको छ । यसैबिच फ्रान्समा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । अहिलेसम्म त्यहाँ कोभिड–१९ बाट २० हजार २६५ जनाको ज्यान गएको छ । संक्रमतिको संख्या फ्रान्समा एक लाख ४५ हजार ४८० रहेको छ ।

१६ हजार ५५० जनाको मृत्यु भएको बेलायतमा कुल संक्रमितको संख्या एक लाख २५ हजार ८५६ तथा जर्मनीमा एक लाख ४७ हजार संक्रमित भएका छन् र चार हजार ८६२ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म कोभिड–१९ बाट एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या २४ लाख ८१ हजारभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार ०७:४३