सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि छलफल

बाँके । नेपाल आयल निगम, इन्धन डिपो नेपालगन्जले पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक बस्तुको सहज आपूर्तिका लागि सरोकारवालाहरुसँग छलफल गरेको छ । कोरोना संक्रमणको महामारी फैलिइरहेका बेला पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक बस्तुलाई निर्वादरुपमा सूचारु गर्न निगमले सरोकारवालाहरुसँग छलफल गरेको हो ।

निगमले इण्डियन आयल कर्पाेरेशन गोण्डाबाट लोड लिएर आएका टैंक ट्रकहरु निर्वादरूपमा डिपोभित्र पुगेर विक्रेताको स्थलसम्म पठाउने कार्य गर्दै आइरहेकोमा थियो । तर, केही दिनदेखि डिपो वरपरका वडावासी, वडाध्यक्ष, नागरिक समाजका प्रतिनिधिहरु भारत गएर पेट्रोलियम पदार्थ लोड लिएर आउने टैंक ट्रकबाट कोरोना संक्रमण हुनसक्ने भन्दै डिपो क्षेत्रमा जान रोक लगाएपछि निगमले सरोकारवालाहरुसँग छलफल गरेको हो ।

विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव रहेको अवस्थामा नेपालमा यसको प्रभावले मानविय क्षतिवाट बच्नका लागि २०७६ चैत्र ११ देखि लकडाउनको घोषणा गरि अत्यावश्यक वस्तु तथा सेवावाहेक अन्यलाई घर बाहिर आवतजावतमा रोक लगाइरहेको अवस्थामा पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक बस्तुको प्रयोगलाई सुनिश्चित गर्न र गराउनका लागि छलफल गरिएको नेपाल आयल निगम, इन्धन डिपो नेपालगन्जका प्रमूख नवविनोद पोखरेलले जानकारी दिएका छन् ।

उनले अहिलेको विषम परिस्थितिमा पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक वस्तुलाई निर्वादरुपमा सुचारु गर्ने, स्थानीयबासीमा देखिएको कोरोना सन्त्रासको भय कम गर्न चालक तथा सहचालकहरुलाई मास्क, सेनेटाइजर, गोल्वस र सम्भव भएसम्म पिपिईसमेत उपलव्ध गराई गाडी लोड लिन भारत पठाउने, व्यवसायीहरुले चालकहरुलाई आवश्यकता अनुसार सुरक्षित तरिकाले होमक्वारेन्टाइनमा बस्ने वातावरण मिलाउने र सुरक्षा निकायसँग समन्वय गरी टैक तथा ट्रकको आवागमनलाई सहज बनाउने विषयमा सहमति भएको बताए ।

विषम परिस्थितमा राज्यप्रतिको उत्तरदायित्व बोध गरि अत्यावश्क वस्तुलाई आवश्यक सुरक्षाका प्रकृया अपनाई सुचारु गर्न सहमत हुने स्थानीयवासी, वडाध्यक्ष, नागरिक समाज तथा राज्यप्रतिको कर्तव्यवोध गरि ढुवानी कार्य सुचारु गराउन सहमत हुने व्यवसायीप्रति निगम धन्यवाद समेत दिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उपस्थितिमा भएको छलफल कार्यक्रममा नेपालगन्ज–२० नं का वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, ढुवानी व्यवसायी लगायतकाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार २०:२८