सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरस : २४ घण्टामा ३३४ जनामा पिसिआर परीक्षण

काठमाडौं । नेपालमा गत २४ घण्टामा गरिएका ३२४ जनाको कोभिड–१९ परीक्षणमा नयाँ पोजिटिभ केस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको कोभिड–१९ सम्बन्धी मिडिया बिफ्रिङमा स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले देशभर गत २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको जानकारी दिए ।

उनले देशभर हालसम्म ८ हजार ४१४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण भएको जानकारी दिए । नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । जसमध्य चार जना निको भइसकेका छन् । बाँकी २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश नम्बर १ को कोशी अस्पतालमा १३ जना, प्रदेश २ को नारायणी प्रादेशिक अस्पताल ४ जना, सुदुरपश्चिम प्रदेशमा ३ जना, वागमति प्रदेशमा टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ । सरकारले देशका सबै जिल्लामा दूत परीक्षण आरडिटी प्रविधिबाट पनि परीक्षण भइरहेको जनाएको छ । हालसम्म देशभर २५ हजार १४८ जनाको परीक्षण भएको जनाएको छ । गत २४ घण्टामा ३ हजार १९ जनाको परीक्षण भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १९:३४