सूचनाको शक्ति - The Power Of Information

        

बस व्यवसायी भन्छन्, ‘सरकार पास दिए अलपत्र नागरिकलाई घर पुर्‍याउँछौं’

फाइल तस्वीर

काठमाडौं । यातायात व्यवसायी महासंघले लामो लकडाउनका कारण काठमाडौं उपत्यका लगायत स्थानमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्‍याइदिन तयार रहेको बताएका छन् । राजमार्गमा हजारौं मजदुर पैदलै हिंडेर घर जाने अवस्था देखिएको भन्दै महासंघले सर्वसाधारणलाई घर पुर्‍याउन तयार रहेको जनाएको हो ।

यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै त्यसका लागि सवारी पास र आवश्यक सुविधा उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् । ‘कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठूलो असर पर्न गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘लाखौं यातायात मजदुरहरु हुन गएको, उनीहरुलाई रोजीरोटीको समस्या भएको र राजमार्गमा हजारौं यात्रु मजदुरहरुको बिचल्ली भई ठूलो समस्या भएकोले उनीहरुलाई घरसम्म पुर्‍याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा यात्रु तथा मजदुर हितका लागि हामी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको व्यवहोरा जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

कडाउनको समयमा महासंघले सरकारलाई सहयोग गर्दै आएको भन्दै विज्ञप्तिमा आगामी असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गर्न माग गरेको छ । यस्तै ६ महिनाको किस्ता अवधि बढाइदिन माग गरिएको छ । यस्तै महासंघले सामग्र यातायात क्षेत्रको संरक्षणका लागि ‘यातायात संरक्षण आयोग’ गठनको माग अघि सारेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १९:०४