काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा बढुवा भएका १० प्रहरी अधिकारीले सोमबार दर्ज्यानी चिन्ह लगाएका छन् । बढुवा समितिले गरेको सिफारिसविरुद्ध कसैविरुद्ध पनि उजुरी नपरेपछि गृहमन्त्री रामबहादुर थापाको आइतबारको निर्णयले १० जना वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) डीआइजीमा बढुवा भएका थिए ।
एसएसपीबाट डीआइजीमा बढुवा भएका घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रबिन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीलाई प्रहरी महानिरिक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले दर्जाको फुली लगाएका हुन् ।
दर्ज्यानी चिन्ह लगाई दिएपछि आइजी ठाकुरप्रसाद ज्ञवालीले प्रहरीको प्रदेशमा समायोजन हुने महत्वपूर्ण काम बाँकी रहेकाले त्यसमा संगठनका नीतिहरु पुरा गर्ने, आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न डीआईजीहरुलाई निर्देशन दिए । प्रदेशको नेतृत्व गर्ने डीआइजीहरु अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्ने बेला आएको उनले बताए । हाल प्रदेश प्रहरीको नेतृत्व डीआइजीले गर्छन् ।
प्रदेशको नेतृत्व डीआईजीले गर्ने भएपछि सरकारले नेपाल प्रहरीमा जनपदतर्फ डीआइजीको दरबन्दी २६ बाट घटाएर १४ मा झारेको छ । १० डीआईजी दरबन्दी खाली रहेको थियो । बढुवा भएर डीआइजी भएका प्रहरी अधिकृतको पदस्थापन सोमबार नै हुने जनाइएको छ । आइजी ज्ञवालीले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि स्थानीय तहसँग आवश्यक सहकार्य एवम् समन्वय गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
उनले विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको सुरक्षा, स्वास्थ्य संवेदनशीलताका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीहरुको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न पनि निर्देशन दिए । कालोबजारी, सामाजिक द्वन्द्व भड्काउने खालका गतिविधि तथा समाजलाई भ्रमित पार्ने अफवाह जस्ता गतिविधि नियन्त्रणमा थप सक्रिय तथा संवेदनशील भई कार्य गर्न समेत उनको निर्देशन छ ।
सत्यपाटी ।