जहाँ संसार आज आधुनिक युगमा प्रवेश गरी वैज्ञानिक प्रविधिमा विकास गरिसकेको छ । त्यही आज पनि महिलाहरुको अवस्था यस्तो छ कि घर, सडक र सदनसम्म महिलावादीहरु महिला पुरुष समान हुन भनि दावी गरिरहनुपरेको छ । महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनि हो–हल्ला गरिरहनुपरेको छ । तर पनि विडम्बना महिलालाई दोस्रो दर्जामा नै राखिन्छ । समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक रहेको छ । आज पनि समाजमा महिलालाई केवल सन्तान उत्पादन गर्ने मेसिन र मनोरञ्जनको साधनभन्दा बढी ठानिँदैन ।
वैदेशिक शक्तिको दबाव र महिलावादीहरुको प्रयासमा बनाइएका नीति नियमहरुले अलिअलि चाख्ने गरी महिला अधिकार दिइएको छ तर त्यो पूर्ण छैन । यहाँ महिला अधिकारको कुरा गरिरहँदा र समाजका कुरा गरिरहँदा नेपाली मुस्लिम समुदायलाई छुटाउन मिल्दैन । तसर्थ यहां हामी खास गरी मुस्लिम समुदायका महिलाहरुलाई इस्लामले अधिकारबिहीन बनाएको छ, दबाएर राखेको छ, शोषण गरिन्छ जस्ता भनाइहरु जो समाजमा फैलाइएको छ । त्यसको बारे केही खुलासा गर्नेछौं । साथै इस्लामले दिएका हकअधिकार र समुदायभित्र गरिने र धर्म रीतिरिवाजका नाममा भोग्न बाध्य समस्याहरुका बारे चर्चा परिचर्चा गर्नेछौं ।
हुन त इस्लाममा महिलाको स्थान र अधिकारहरु भनाई, गराई र बुझाई भिन्नभिन्नै छन् । तथापी अरु समुदायको देखासिकी गरेर मुस्लिम समुदायले इस्लामको मुल्यमान्यता र नीति नियमहरु छाड्दै गइरहेका छन् र लगभग मुस्लिम महिलाहरु अवस्था र समस्या पनि नेपालका अन्य महिलासरह नै छ । जसले गर्दा अरु समुदायको नजरमा इस्लाम कट्टरवाद र महिलाप्रति निकै कठोर रहेको र महिला अधिकारहरु कुण्ठित गर्ने धर्म हो भनि भ्रम फैलिएको छ । हामी इस्लाममा महिलाहरुलाई दिइएका अधिकारबारे कुरा गर्नुपूर्व मुस्लिम समुदायभित्र पसेका नाकारात्मक रीतिरिवाजबारे पहिला कुरा गर्नु आवश्यक छ ।
कसरी यस समुदायलाई केही अतिवादी सोचका व्यक्तिहरुले इस्लाम धर्मलाई महिलाप्रति कट्टरताका साथ प्रस्तुत गरिरहेका छन् । जबकी इस्लाममा महिलाको स्थान, सम्मान, अधिकार र वास्तविकता भने व्यवहारभन्दा फरक छ । अधिकांश छोरीलाई उच्च शिक्षाबाट बञ्चित राखिन्छ उनीहरुलाई सम्पत्तिमा अधिकार दिइँदैन । मुस्लिम समुदायभित्र हाल छोरीलाई बोझको रूपमा लिइन्छ किनभने छोरी पराई घर जाने जात हो, जसको राम्रो घर र वरसँग बिवाह गर्नु फलामको चिउरा चपाउनुसरह भइसकेको छ । कारण यसलाई विवाह गर्दा राम्रो घर र वर दिलाउन माग अनुसारको मोटो रकम र लाखौं करोडौंको दाइजो दिनुपर्ने हुन्छ ।
दाइजोमात्र नभई जन्तीमा आउँदा लाग्ने गाडी भाडा, औकातभन्दा बढी चार पाँच सय जन्तीमा आएकाहरुलाई महँगो उपहार, सलाम गराइमा माग अनुसार मोटरसाइकल, चारपाङ्ग्रे गाडी, सुनको सिक्री औंठीजस्ता महङ्गा उपहार बेहुलालाई केटी पक्षले दिनुपर्ने हुन्छ । साथै खानपानका लागि महङ्गो होटेलमा नानाथरीका पकवानको व्यवस्थासमेत केटीपक्षले गर्नुपर्छ । हुन त यसो छोरीको विवाह गर्दा यी खर्च व्यहोर्ने दायित्व हो भनि इस्लामको कुनै किताब कुरान मजीद वा हदीश शरीफमा लेखिएको छैन । तथापी यी खुराफातहरु अहिले मुस्लिम समुदायमा चरम सीमा विद्यमान छ । यस्तो वाहियात रीतिरिवाजको इस्लामसँग कुनै सरोकार छैन, यो अरुको देखासिकी मात्र हो ।
यीनै फिजुल खर्चका कारण नै मुस्लिम समुदाय जहाँ छोरीलाई ‘रहमत’ भनिएको छ त्यही समुदायका अधिकांशले छोरीलाई अभिशापको रुपमा लिइरहेका छन् । आज यो विषयमा खुलासा गर्न जरुरी छ कि इस्लाममा महिला अधिकारहरु कहाँकहाँ र के कति छन् । ताकी इस्लामबारे गलत बुझाइ भएकाहरुलाई ज्ञान होस् । सर्वप्रथम त बाँच्न पाउने अधिकार इस्लामले दिलायो, जब १४ सय बर्षअघि छोरी जन्मिँदा उसलाई जिउँदै माटोमुनि पुरेर हत्या गरिन्थ्यो । आज पनि हाम्रो समाजमा छोरी भएमा भ्रुण हत्या गरिन्छ ।
तर इस्लामले छोरीलाई रहमत भनी सम्बोधन गरी बाँच्ने अधिकार दिलायो । दोस्रो कुरा उचित पालनपोषणको अधिकार इस्लामले भनेको छ । तिमीले त्यति बच्चामात्र जन्माऊ जसको पालनपोषण राम्ररी गर्न सक्छौं । त्यहा यो भनिएन् कि त्यति छोरामात्र जन्माऊ जसको पालनपोषण राम्ररी गर्न सक्छौं । तेस्रो कुरा शिक्षाको अधिकार कुरानपाक अल्लाह करीमको सबैभन्दा पहिलो फरमान छ कि ‘इकरा’ अर्थात ‘पढ’ अर्कोतिर इस्लामले भन्छ ‘तलबुल इल्मी अलाकुल्ली मुस्लेमीन व मुस्लीमाह’ अर्थात् शिक्षा हासिल गर्नु हरेक मुस्लिम महिला र पुरुषका लागि अनिवार्य छ । साथै इस्लामका प्रवर्तक हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको महान वाणी छ, ‘शिक्षा हासिल गर चाहे चीन जान परोस् ।’ त्यहाँ महिला र पुरुष भनी छुट्याइएको छैन ।
चौथो कुरा स्वतन्त्रताको अधिकार जहाँ समाजमा रीत छ । छोरीका लागि वर खोज्ने अधिकार परिवारलाई हुन्छ, घरपरिवारले जसको घर डोर्याइ दिए, त्यही विवाह गरी जानैपर्ने हुन्छ । तर इस्लाम नै एकमात्र यस्तो धर्म हो जसले जीवनको यस महत्वपूर्ण निर्णयको अधिकार स्वयं महिलालाई दियो, त्यो पनि १४ सय बर्षअघि नै । अर्थात् निकाहको बेला कबूल गर्ने पहिलो हक महिलालाई दियो स्वीकार र अस्वीकार गर्ने पहिलो र पूर्ण हक महिलाको हुन्छ । यदि महिलाले अस्वीकार गरे जन्ती र बेहुला फिर्ता हुनुपर्छ कुनै जोरजबरजस्ती गर्न पाइँदैन । गर्यो भने गर्ने व्यक्ति गुनाहगार (पापको भागीदार) हुन्छ । यहाँ यो कुरा प्रष्ट भयो कि जीवन साथीको चुनाव गर्ने पहिलो अधिकार महिलालाई दिएर इस्लामले महिलाको स्थान उच्च राखेको छ ।
पाँचौ कुरा महरको अधिकार अब निकाहको बेला इस्लामले १४ सय बर्षअघि दाइजो प्रथाको अन्त्य गरी महिलाहरुका सम्मानस्वरूप उनीहरुका लागि महर (निकाह अर्थात् विवाहको समय केटापक्षले दिने सम्पत्ति) को अधिकारको व्यवस्था गर्यो । जुन सम्पत्ति तत्काल वा केही समयको अन्तरालमा बुझाउनैपर्ने हुन्छ र त्यसमाथि पूर्णरुपले महिलाकै स्वामित्व हुन्छ । छैठौं कुरा कुनै पनि महिला आफ्नो पतिका खाना बनाउन बाध्य हुँदैनन्, न त पतिका कपडा वा घरको सरसफाई गर्न बाध्य हुन्छिन्, न त सास ससुरा, नन्द, देवरको सेवा गर्न बाध्य हुन्छिन् । तर, मानवताका नाताले गरे भने पुण्य प्राप्त हुनेछ ।
हुन् त यस्तो घटना हुँदैन, किनभने आमा भनेकी ममताकी खानी हुन् र उनको विशाल हृदयले यो गर्न मान्दैन । तथापि महिलालाई यहाँसम्म अधिकार छ की यदि महिलाले आफ्नो बच्चालाई दूध चुसाउदिन भनिन् भने पुरुषले ढिपी गर्न पाउँदैन । बरु उसले धाई (दूध चुसाउने) को व्यवस्था स्वयं गर्नुपर्ने हुन्छ । सातौं कुरा पत्नीका आवश्यकताहरु पुरा गर्नु पतिको कर्तव्य हो । किनभने निकाहको बेला उसले सबैको सामु कबूल अर्थात् स्वीकार गरेको हुन्छ कि म मेरी पत्नीको सम्पूर्ण आवश्यकताहरु पुरा गर्नेछु, उसका सम्पूर्ण इच्छाहरु पुरा गर्नेछु र उसको अस्मिताको रक्षा गर्नेछु । तर पतिलाई उसको हैसियतभन्दा बढी व्यवस्था गर्न कर गर्ने यसको अर्थ यो कदापि होइन । पत्नीले आफ्नो पतिको हैसियत अनुसार माग गर्नुपर्छ ।
आठौं कुरा सम्पत्तिको अधिकार हामी महिलालाई सम्पत्तिमा अधिकारको कुरा गर्दा बल्लबल्ल कानुनले अविवाहित छोरीको हक ३५ बर्षको हद हटाएको छ । तर इस्लामले त्यो अधिकार १४ सय बर्षअघि यसरी दिएको छ की सम्पूर्ण सम्पत्तिको एक तिहाई भाग छोरी वा छोरीहरुका लागि छुट्टियायो त्यो पनि उमेरको कुनै हदबन्दी न राखेर र एक तिहाईपछि शेष सम्पत्तिबाट दाईभाई र आमाबाबुले व्यवस्था गरेको हो । बिवाहपश्चात पतिको सम्पत्तिमा पूर्ण भागीदार पत्नीलाई नै बनायो । आमा र बुवामध्ये अहमियत व दर्जाको कुरा गर्ने हो भने बच्चाहरुका लागि बुवाभन्दा तीन गुना बढी आमाको अहमियत र दर्जा दिइएको छ यसले पनि थाहा हुन्छ कि इस्लामले महिलाको स्थान उच्च राखेको छ । छोरीको जन्म र उचित पालनपोषण पश्चात विवाह गरिदिने अभिभावकहरुको लागि जन्नत (स्वर्ग)को खुशखबरीको ऐलान गरिएको छ । यहाँ यो कुरा प्रष्ट भयो कि इस्लामले महिलालाई कति उच्च सम्मान दिएको छ ।
एक महिला छोरी भए अभिभावक लागि रहमत, बिवाहपश्चात पतिका शफकत र छोराछोरीका लागि जन्नत हुन् । अर्थात एक महिला जब छोरी हुन्छिन् तब उनी आफ्ना अभिभावकका लागि ढाल हुन्छिन् उनले गर्दा नै अल्लाहले उनका अभिभावकमाथि दयादृष्टि गर्नुहुन्छ । एक महिला जब पत्नी हुन्छिन् तब उनी माया प्रेमकी मूर्ति हुन्छिन् र हरेक परिस्थितिमा आफ्नो पतिका लागि प्रेमवर्षा गरी उनलाई सुख दिन्छिन् । एक महिला जब आमा बन्छिन् तब अल्लाहले उनको दर्जा (ओहदा) यति बुलन्द (माथि) गर्दिनुहुन्छ की मरेपछि जुन स्वर्गको कामना र स्वर्गमा बास होस् भनी चाहना गरेका हुन्छन् । त्यही स्वर्गलाई आमाको पैताला मुनि राख्दिनुभयो । जसले यो कुरा वाजेह (प्रष्ट)भयो कि इस्लामले महिलालाई उच्च स्थान र सम्मान दिएको छ । यहाँ दुई वटा हदीश शरीफ उदाहरणस्वरूप राखिएको छ यसले इस्लाममा महिलाको गरिमाबारे अझै प्रष्ट हुनेछ ।
हदिस नं. १ – ‘अद् दुनियाँ ओ कुल्लोहा मताउँ व खैरसो मताइद् दुनियाँ अल् मरअतुस् सालेहा ।’ अर्थात् संसार एक जिवन हो र सबैभन्दा सर्वोत्तम संसार (जिवन) एक चरित्रवान महिला हुन् ।
हदिस नं. २ – ‘मन आल जारे यतिने हत्तातब्लोगा जा आ यौमल कयामते अना वहोव हाकजा व दम्म असाबे अहु ।’ अर्थात् जो कोहीले बालिकाको जन्मदेखि उसको विवाहसम्मको जिम्मेवारी वहन गर्दछ, उसको स्थान म सगँसँगै हुन्छ (हजरत मोहम्मद) ।
यहाँ इस्लामी महत्वपूर्ण हस्तीहरुको कुरा पनि जोडेर ती उदाहरणीय व्यक्तित्वबारे चर्चा गरी अझ प्रष्ट पार्ने प्रयास गरिन्छ जसले गर्दा सबैलाई अझ पुर्णरुपले प्रष्ट होस् । हजरत खदीजा रजि, उहाँ १४ सय बर्षअघि साउदी अरबको सफल र सबैभन्दा ठुलै व्यवसायी महिला हुनुहुन्थ्यो । यसले यो प्रष्ट हुन्छ कि महिलालाई व्यापार व्यवसाय गर्ने अधिकार छ । हजरत उम्मे सुलेम रजि, उहाँ एक आर्मी हुनुहुन्थ्यो र जसले युद्धभूमिमा युद्ध गर्नुभयो । यसले प्रष्ट हुन्छ कि महिला कमजोर हुँदैनन् । सय्यदा ताहेरा आबिदा जाहिदा हजरत फातिमा खातुने जन्नत एक नर्स र डाक्टर हुनुहुन्थ्यो । उहाँले युद्धमा घाइते भएका सिपाहीहरुको उपचार गर्नुहुन्थ्यो ।
हजरत आइशा रजि, उहाँ एक कानूनविद र शिक्षक हुनुहुन्थ्यो । उहाँले शिक्षा दिनुहुन्थ्यो र युद्धनीति र अन्य कानून, नीतिनियमहरु बनाउन सल्लाह दिनुहुन्थ्यो । सहाबीहरुलाई कुनै जटिल कुरा वा मुद्दामा गाह्रो हुँदा उहाँहरु हजरत आइशा रजि कहाँ सरसल्लाह लिन आउनुहुन्थ्यो । इस्लाममा यस्ता धेरै महान महिला हस्तीहरु थिए जसले उदाहरणीय कार्य गर्नुभयो । माथि महिलाहरु इस्लामले दिएका केही महत्वपूर्ण अधिकार र इस्लामी महान महिला हस्तीहरुका उदाहरणीय कार्यबारे केही जानकारी गराइयो । आशा छ, यसले समाजमा फैलिएको नकारात्मक धारणालाई हटाउन निकै योगदान पुर्याउनेछ । समाजमा विद्यमान कुरितिहरुले जसको इस्लामसँग कुनै सरोकार नै छैन्, जो केही अवसरवादीहरुले समाजलाई भ्रमित बनाई निजी फाइदाका लागि इस्लाम प्रति नकारात्मक सोच फैलाए ।
जसले गर्दा समाजमा अमानवीय घटना, महिला हिंसा, विभेद, असमानता ब्यापकरुपमा कायम भयो । यहांँ उल्लेख गरिएका केही महत्वपूर्ण यी अधिकारहरुबारे चर्चा गरी महिलालाई अगाडि र पुरुषलाई पछाडि पार्ने उद्देश्य गरिएको छैन । जबकी महिलाप्रति इस्लाम कति उदार र महिलाको स्थान कति उच्च छ भनी दर्शाउनु हो । यदि महिलाहरुलाई इस्लामले दिएका यी अधिकारहरु दिइयो भने समाजमा लागेको भयानक रोगसरह रहेका महिलाहिंसा, असमानता, विभेदजस्ता अपराधहरु पक्कै कम हुनेछन् । समाजमा शान्ति कायम हुनेछ ।
शाहिदा बानो शाह ।