सूचनाको शक्ति - The Power Of Information

        

पिसीआर पद्धतिबाट कोरोना परीक्षण गरिएका नौं जनाको रिपोर्ट नेगेटिभ

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आरटी–पिसीआर पद्धतिबाट नौ जना शंकास्पद व्यक्तिको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएमध्ये सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना रोग फोकल पर्सन तथा सूचना अधिकारी ग्यास्ट्रोलोजिष्ट फिजिसियन डा.संकेत रिसालले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा संकलन भएका स्वाबको आइतवार परीक्षण गरिएको छ । कोरोनाको लक्षण देखिएका गुलरिया बर्दियाका ४२ वर्षीय इसराइल बेहनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको फोकल पर्सन डा.रिसालले बताए ।

बेहनाको ६ चैत बिहान करिब ६ बजे उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो । श्वासप्रश्वास, रुघाखोकी र ज्वरोको संक्रमण देखिएका बेहनाको आइसियुमा राखेर उपचार गरिएको थियो । नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका दाङका एक ब्यक्तिको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको फोकल पर्सन डा.रिसालले जानकारी दिए ।

दाङ्गका ती व्यक्ति भारतको गुजरातबाट आएर क्वारेन्टाइनमा बसेर घर फर्किएका बेला पत्नीसँग विवाद भएको थियो । विवादका क्रममा पत्नीले चिर्पटले हिर्काउँदा उनी घाइते भएका थिए । उनको ५ चैतमा शिक्षण अस्पताल कोहलपुरमा मृत्यू भएको थियो । ‘भारतबाट आएकोले कोरोना हुन सक्ने आशंकामा उनको पनि कोरोना जाँच गरिएको हो,’ भेरी अस्पतालका फोकल पर्सन डा.रिसालले भने ।

बाँके र बर्दियाका नागरिकलाई लक्षित गरि भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएसँगै शनिबारबाट परीक्षण सुरु गएको थियो । प्रयोगशाला सञ्चालन भएपछि स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ । पिसिआर पद्धतिबाट एकदिनमा १०० जनाको नमूना परीक्षण गर्न सकिने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाशबहादुर थापाको भनाई छ ।

५१८ जनाको कोरोना जाँच

बाँकेमा अहिलेसम्म १०१ जनाको आरटी–पिसीआर पद्धतीबाट कोरोना जाँच गरिएको छ । पिसीआर पद्धतिबाट कोरोना जाँच गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत तथा सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार, विभिन्न क्वारेन्टाइनमा रहेका ४१७ जनाको आरडिटी पद्धतीबाट कोरोना जाँच गरिएको छ ।

जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । बाँकेमा १७ वटा क्वारेन्टाइन सञ्चालनमा छन् । बाँकेका कोरोनाका विरामीका लागि ११४ वटा बेड रहेका छन् । कोरोना संक्रमित विरामीको उपचार गर्न ५३ आइसियू, २१ भेन्टिलेटर बेडको ब्यवस्था गरिएको छ । श्रेष्ठका अनुसार, कोरोना आशंका गरिएका ११ जना विरामी भर्ना भएकोमा सात जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १७:१४