सूचनाको शक्ति - The Power Of Information

        

शवलाई पनि पीडा !

फाइल तस्वीर

न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरका अस्पतालहरूमा शवको चाङ लागेको छ । तर मृतकको अन्तिम संस्कारमा उत्पन्न अप्ठेरोले यस्तो लाग्छ, शव पनि पीडामुक्त हुन सकिरहेको छैन । डर लाग्दो कुरा त के छ भने, त्यहाँ दैनिक ७०० देखि ८०० जनासम्म कोरोनाका कारण ज्यान गुमाइरहेका छन् । बरफ जमाइएको ट्रकहरूमा शव राखिएको छ ।

मृतकका आफन्त आउन् र शव लिएर जाउन् भन्ने उद्देश्य त्यसरी शवहरू ट्रकमा राख्ने गरिएको हो । पाँच–छ दिनसम्म पनि परिवारका मानिस आएनन् भने शवलाई हार्ट आइल्यान्ड नामक टापुमा लगेर पुरिन्छ । न्युयोर्क प्रशासनले कोरोना महामारीपछि शव व्यवस्थापनका लागि यस्तो प्रबन्ध मिलाएको हो ।

सहरको प्रशासनले शव राख्न २५० यस्ता ट्रक विभिन्न स्थानका अस्पतालको बाहिरपट्टि राख्ने गरेको छ । जो मानिस शवको नजिक जान्छ, उसले शरीर पूरा ढाक्ने गाउन लगाउनुका साथै मास्क प्रयोग गर्नुपर्छ । शव गाड्ने (कब्रस्थल) ठाउँमा अन्तिम संस्कारका लागि आफन्तको मृत शरीरको प्रतीक्षामा धेरै दिन रहनुपर्ने अवस्था छ ।

कब्रस्थलमा एकपटकमा केही मानिसलाई मात्र जाने अनुमति प्रशासनले दिएको छ । यति हुँदाहुँदै पनि महामारीका कारण मृत्यु हुनेको सङ्ख्या बढेकाले एकैपटक दर्जनौं शव अन्त्येष्टिका लागि लगिने गरेको प्रशासनले बताएको छ । न्युयोर्क सहरको प्रशासनले ३० जुनसम्म चौबीसै घण्टा कब्रस्थल खुला राखिने जानकारी दिएको छ ।

सहरमा पहिलापहिला महिना दिनमा पनि यति शव अन्तिम संस्कारका लागि नआउनेमा अहिले दुईतीन दिनमै आउन थालेको बताइएको छ । पछिल्ला सातामा यस्तो दृश्य देख्नुपरेको हो । मुसलमान धर्मावलम्बीहरूको इस्लामिक सेन्टरहरूमा पनि अन्तिम स्नान गराउन ठूलो आपत् पर्न थालको छ । न्युयोर्कमा भारतलगायत अन्य कतिपय मुलुकबाट गएका मुस्लिमहरूको बाक्लो बसोबास छ ।

न्युयोर्क सहरमा कोरोना भाइरसका बिरामी बढी छन् । त्यहाँ झन्डै दुई लाख जनामा यो भाइरसले आक्रमण गरेको छ । पछिल्लो एकैदिनमा ८३०० जनामा पोजिटिभ भेटिएको छ । यद्यपि, पछिल्ला दिनमा अमेरिकामा सङ्क्रमितको दरमा कमी आएको बताइएको छ । अस्पताल भर्ना हुने बिरामी पनि कम हुँदै गएका छन् । मानिसहरूले सामाजिक दूरी अपनाएका कारण यो नतिजा आएको हो । बीबीसी

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतवार ०९:१०