सूचनाको शक्ति - The Power Of Information

        

भेरीमा सञ्चालनमा आउँदै पीसीआर, भोलीदेखि कोरोना परीक्षण

बाँके । लामो प्रतिक्षापछि अब बाँकेमै कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लाग्ने भएको छ । कोरोना भाइरस संक्रमण जाँचका लागि प्रयोग हुने मेसिन पीसीआर भेरी अस्पताल नेपालगन्ज आएको करिब दुई हप्तापछि सञ्चालनमा आउने भएको छ ।

लामो प्रतिक्षापछि गत चैत्र २४ गते सोमबार राती काठमाडौंबाट बा ८ च ४५५७ नम्बरको पिकअप गाडीमा लोड गरि ल्याइएको उक्त मेशिन प्राविधिक तथा पूर्वाधारको तयारी समयमै हुन नसक्दा ढिलो गरि सञ्चालनमा आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर थापाका अनुसार कोरोना भाइरस संक्रमण जाँचका लागि ल्याब तयार गरिएको छ । भेरीमा कोरोना भाइरस संक्रमण जाँच हुने भएपछि अब स्वाव परीक्षणका लागि बुटवल वा काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका बेला नेपालगन्जको भेरी अस्पतालमै जाँच हुनेभएपछि बाँके, बर्दिया लगायतका क्षेत्रका आम नागरिकलाई राहत हुनेछ ।

अस्पतालका मेसु डाक्टर थापाले भने, ‘कोरोना भाइरस संक्रमणको परीक्षण आज ७ बजेबाटै सुरु गरिएको छ ।’ यद्यपी परीक्षणका लागि नमुना भोलीबाट संकलन गरिने बताए । बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै कोरोना भाइरस आशंकित ब्यक्तिको नेपालगन्जमै परीक्षण हुनेछ । मेसु डाक्टर थापाका अनुसार सुरुवातमा त्यति धेरै कामको चाप नभए पनि म्यानपावर बढाएर भए पनि कामलाई तिब्रता दिइनेछ ।

कोरोना भाइरस संक्रमण जाँचका लागि भेरीमा स्थापना गरिएको ल्याबमा रहेको पिसिआर मसीनबाट कम्तीमा पनि एकदिनमा १०० जनाको नमुना परीक्षण गरिनेछ । लामो प्रतिक्षपछि नेपालगन्जमा कोरोना जाँच मेसीन आइपुगेको हो । कोरोना भाइरस संक्रमण जाँचका लागि आएको मेशिन पीसिआर सञ्चालन भएलगत्तै क्वारेन्टिनमा मात्र नभइ यसक्षेत्रका अन्य कोरोना भाइरस आंशकित ब्यक्तिको समेत जाँच हुनेछ ।

कोराना भाईरस संक्रमण थाहा पाउन सजिलो र विश्वासिलो आधार भनेकै पीसिआर मेशिनबाट परीक्षण गरिनु हो । उक्त मेशिन जडानका लागि शनिबारमात्रै काठमाण्डौंबाट प्राविधिक टोली आएको थियो । उक्त टोलीले शनिबार दिनभर गरेको प्रयासका कारण बेलुकी ७ बजे प्रयोगशालामा कोरोना परीक्षणका लागि सवै तयारी पुरा भएको मेसु डाक्टर थापा बताँउछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १९:३३