सूचनाको शक्ति - The Power Of Information

        

चैनपुरमा चोरीका घटना बढ्दै, उदासिन प्रहरी

बझाङ । बझाङ सदरमुकाम चैनपुरमा चोरीका घटना बढ्न थालेका छन् । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि लकडाउन गरेको समयमा सर्वसाधारणहरु बजारमा हिँडडुल गर्न नपाए पनि गएराति जिल्ला प्रहरी कार्यालय जाने बाटोमा पर्ने दुई वटा पसल र भोटे गल्लीमा रहेको एउटा पसलमा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाने बाटो तथा जीप काउन्टर नजिकै रहेको मष्टा गाउँपालिका–७ बस्ने धनबहादुर जेठाराको आमाछोरा मोबाइल ग्यालरी, सोही ठाउँ नजिकै रहेको मष्टा गाउँपालिकाकी रजना द्घालको कस्मेट तथा किराना पसल र भोटे गल्लीमा रहेको तल्कोट गाउँपालिकाका मोहन बोहराको साइपाल इलेक्ट्रोनिक पसलमा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाने बाटो नजिकमै रहेको आमाछोरा मोबाइल ग्यालरीबाट रेडियो, विभिन्न कम्पनिका ६० पिस मोबाइल, एउटा ल्याप्टप र सात हजार रुपैयाँ नगद, घडी लगायतका सामानहरु चोरी भएको छ । साइपाल इलेक्ट्रोनिक्सबाट साउन्ड बक्स, हाउस वाइरिङ्गका सामान, विद्युतिय सरसामानहरु लगायतका चोरी भएको छ ।

कस्मेटिक तथा किराना पसलबाट किरानाका सबै सामानहरु चोरी भएका छन् । यसअघि पनि चोरीका घटना भइरहे पनि प्रहरीको उदासिनताले चोरीमा संलग्नहरु पक्राउ पर्न सकेका छैनन् । जसका कारण दैनिकजसो चोरीका घटना हुन थालेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नेत्र बोहराले आफु व्यस्त रहेको भन्दै सूचना लुकाउन खोजेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १९:२०