सूचनाको शक्ति - The Power Of Information

        

२७ दिनपछि घर फर्किइन् प्रसिद्धि

काठमाडौं । कोरोना संक्रमित भएर शहीद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएकी एक युवतीलाई अस्पतालले डिस्चार्ज गरेको छ । पूर्णरुपमा स्वस्थ भएपछि शनिबार कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

डिस्चार्ज भएसँगै प्रसिद्धि घर फर्केकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी उनी आज २७ दिनपछि घर फर्किएकी छन् । उनी नेपालकी दोस्रो कोरोना संक्रमित हुन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले बताए ।

काठमाडौं घर भएकी उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १९:०४

सिफारिस