सूचनाको शक्ति - The Power Of Information

        

नेविसंघको स्थापना दिवस : लकडाउनमा १५९ जनाद्वारा रक्तदान (फोटोफिचर)

बाँके । कोरोना भाइरसका कारण पुरै देश लकडाउन छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै बढेको त्रासका कारण बाँकेमा रगत अभाव हुँदै गएको छ । कोरोनाको त्राससँगै संस्थागतरुपमा रक्तदानका कार्यक्रमहरु आयोजना नहुँदा पछिल्लो समय बाँकेमा रगत अभाव हुँदै गएको हो ।

नेपाल विद्यार्थी संघ बाँके लकडाउनको समय आयोजना गरेको रक्तदान कार्यक्रममा १५९ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरस्थित रक्त सञ्चार केन्द्रसँगको समन्वयमा जिल्लामा देखिएको रगत अभावलाई पूर्ति गर्नकै लागि रक्तदान कार्यक्रममा आयोजना गरिएको नेविसंघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्य बताए ।

अध्यक्ष आचार्यका अनुसार संस्थागतरुपमा रक्तदानका कार्यक्रमहरु आयोजना नहुँदा जिल्लामा रगत संकलन कम हुँदै गएपछि नेविसंघको ५१ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

संकटको घडीमा रक्तदान गरी सहयोग गर्ने धन्यवाद दिँदै रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा लाग्न सबैलाई आग्रह गरे । रक्तदान कार्यक्रममा कोहलपुर क्षेत्रका युवा, विद्यार्थी र शुभचिन्तकहरुको सहभागिता रहेको आचार्यले बताए । कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने पनि उनले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १८:३५