बाँके । बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अपरिपक्वताका कारण नेपाल–भारत सीमा क्षेत्र दशगजास्थित क्वारेन्टाइनमा रहेका १८१ जनालाई पुनः क्वारेन्टाइनमै बस्नुपर्ने भएको छ । १५ दिनदेखि दशगजास्थित वारेन्टाइनमा राखिएका उनीहरुको आजमात्रै र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको थियो ।
आरडिटीमार्फत कोरोना परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आ–आफ्नो घर पठाउन नेपालगन्ज उपमहानगरपालिकाले पहल थालेको थियो । तर, सिडियो खड्काका कारण उनी घर जानबाट बञ्चित भएका छन् । सिडियो खड्काको अपरिपक्वताका कारण उनीहरु फेरि क्वारेन्टाइनमै बस्नुपर्ने भएको छ ।
‘हामीले दुई दिनअघि नै सिडियो सा’बसँग व्यवस्था मिलाउन पहल गर्यौं । उहाँले सबै व्यवस्था भइसक्यो भन्ने जवाफ दिनुभएको थियो । सोही अनुसार हामीले आरडिटी परीक्षण गरेर उनीहरुलाई आजै घर पठाउने आश्वासन दिएका थियौं, गृहको आदेश भन्दै सिडियो सा’बले रोकिदिनुभयो,’ नेपालगन्जका मेयर डा.धवलसम्शेर राणाले भन्नुभयो ।
गृह मन्त्रालयसँग समन्वयनै नगरेर हचुवाका भरमा सिडियोले नै क्वारेन्टाइनमा रहेकाहरुलाई सम्बन्धीत जिल्ला पठाउने भन्दै क्वारेन्टाइनस्थलमा गाडीसमेत पठाएका थिए । क्वारेन्टाइनमा रहेकाहरु घर जान भन्दै झोला र सरसामानसहित गाडी चढिसकेका बेला पुनः सिडियो खड्काले गृहको आदेश भन्दै उनीहरुलाई झार्न लगाइएको थियो ।
सिडियो खड्काले उनीहरुलाई पठाउने विषयमा गृहको अन्तिम निर्णय कुरिरहेको र आजै राती वा भोली विहान जसरी भए पनि घर पठाउने दावी गरे । यद्यपी आफ्नै निर्णयमा अडिग हुन नसक्ने सिडियो खड्काले गृहमा भरपर्दो समन्वय नगरेका कारण भारतबाट घर फर्किएका मजदुरहरुलाई कति दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने हो भन्ने अन्यौलता छाएको छ ।
आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किन पाउने भन्दै खुशी व्यक्त गरेका नेपालीहरु सिडियोको उदासिनताका कारण क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै आक्रोशितसमेत भएका छन् । घर जान नपाएपछि उनीहरुले गाडीमा समेत तोडफोड गरेका छन् । क्वारेन्टाइनमा बसेकालाई घर फिर्ता पठाउने भन्दै ६ वटा गाडी दशगजा लगिएको थियो ।
तीमध्ये तीन वटा गाडी तोडफोड भएका छन् । स्थानीय प्रशासनले गृहमन्त्रालयमा सम्पर्क गर्दा पठाउन नमिल्ने निर्देशन आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् । गृह मन्त्रालयसँग समन्वय नै गरेका सिडियो खड्काकै निर्देशनमा उनीहरुलाई अहिले पठाउने निर्णय भइ नसकेको भन्दै घर जानबाट रोकिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणाले गृहमन्त्री रामबहादुर थापा र गृहसचिवलाई फोन सम्पर्क गर्दा गृहमन्त्री थापाले मन्त्रीपरिषद्को निर्णयले नै एक ठाँउबाट अर्को ठाँउमा जान रोकेको प्रतिक्रिया दिएको राणाले जानकारी दिए । मेयर राणाले भने, ‘गृहमन्त्रीले अर्को निर्णय नहुँदासम्म जान नमिल्ने बताएपछि के गर्नु ?’
घर जान तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै सिडियोेले निर्देशन दिएसँगै आफूहरु घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका नेपालीले क्वारेन्टिनमा रहेको तीन ओटा बसको सिसा फुटाइदिएका छन् । बस तोडफोड गर्ने क्रममा क्वारेन्टाइनमा रहेका एक जना सामान्य घाइते भएका छन् ।
सत्यपाटी ।