सूचनाको शक्ति - The Power Of Information

        

अन्ततः फेरि क्वारेन्टाइनमै १८१ जनाको बास

बाँके । बाँकेमा बिहीबारसम्म पिसिआर र आरडिटी विधिबाट परिक्षण गरिएका २७९ जनामा कोरोना नेगेटिभ देखिएको छ । स्वाब संकलन गरेर पिसिआर विधिबाट परिक्षण गरिएका ७६ जना र क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेका २०३ जनामा आरडिटी किटबाट कोरोमा परिक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा क्वारेन्टाइनमा बसेकाहरुको नमुना परिक्षणलाई तीव्रता दिइएको छ । उनकाअनुसार अब क्वारेन्टाइनमा ३०४ जना छन् । यहाँका तीन अस्पतालको आइसोलेसनमा रहेका थप १५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि भैरहवा पठाइएको छ ।

नेपालगन्जको दशगजामा रहेका १८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।

भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका १८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुको बिहीबार आरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडीसमेत बोलाइएको थियो । धेरैजसो गाडीभित्र सामान राखिएका थिए ।

कतिपयले आ–आफ्नो सिट छानेरसमेत बसिसकेका थिए । स्थानीय प्रशासनले गृहमन्त्रालयमा सम्पर्क गर्दा पठाउन नमिल्ने निर्देशन आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् । गृह मन्त्रालयबाट पठाउन नमिल्ने जवाफ आएपछि प्रजिअ खड्काले उनीहरुलाई अहिले पठाउने निर्णय भइ नसकेको भन्दै घर जानबाट रोकेको बताए ।

१५ दिन क्वारेन्टिन बसेर आरडिटी टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य मानिने गरिएको छ । जिल्लाकै अन्य स्थानीय तहहरुले भने यस्तोमा घर जान दिएका छन् । दशगजामा राख्ने बेलामा उनीहरुले आन्दोलन गर्दा १४ दिनपछि घर पठाइदिन्छौं भन्ने आश्वासन पनि दिइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलसम्शेर राणाले गृहमन्त्री रामबहादुर थापा र गृहसचिवलाई फोन सम्पर्क गर्दा गृहमन्त्री थापाले मन्त्रीपरिषद्को निर्णयले नै एक ठाँउबाट अर्को ठाँउमा जान रोकेको प्रतिक्रिया दिएको राणाले जानकारी दिए । मेयर राणाले भने, ‘गृहमन्त्रीले अर्को निर्णय नहुँदासम्म जान नमिल्ने बताएपछि के गर्नु ?’

गृह मन्त्रालयले घर नपठाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि नेपाल–भारत सीमा क्षेत्र दशगजास्थित क्वारेन्टाइनमा राखिएका १८१ जना पुनः क्वारेन्टाइनमै बस्नुपरेको छ । आरडिटीमार्फत कोरोना परिक्षण गरिएका उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । सबैको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुले आजै आ–आफ्नो घर जान पाइने भन्दै खुशी भएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १७:१२