सूचनाको शक्ति - The Power Of Information

        

असिना पानीले अन्नबाली नष्ट

बझाङ । बैशाख ३ गते बेलुकी चलेको हावाहुरीसँगै परेको असिना पानीले अन्नबालीमा क्षति पुर्याएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिकाको वडा नं. १, ४ र ५ को बगडगाउँ, भन्डारी जिउला, झुटेडा, ब्याँसी, थलारा गाउँपालिकाको वडा नं. ७ मा र खप्तड छान्ना गाउँपालिकाको लेकाली क्षेत्रमा परेको असिना पानीले अन्नबाली र फलफुलमा क्षति गरेको छ ।

थलारा गाउँपालिकाका कृषक दिपक चलाउनेले भने, ‘साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी फलफुल र तरकारीबाली पूरै सखाप पार्यो ।’ असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसानहरु यसपाली खाद्यान्न अभाव हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । खेतीको भरमा आश्रित किसान असिना पानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँ खेतीमा क्षति पुर्याएपछि निरास भएको चलाउनेले बताए ।

‘असिनाले किसानलाई निकै समस्या पार्यो । गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँ लगायतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान बुधवार, परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्याएपछि निरास छन्,’ चलाउनेले भने । छविसपाथिभेरा गाउँपालिका–१ का वडाध्यक्ष नैन बोहराले असिना पानीका कारण भएको क्षतिको विवरण संङ्कलन गर्न लागेको र केहि दिनमा राहात वितरण गर्ने बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १२:३१