सूचनाको शक्ति - The Power Of Information

        

दशगजा क्वारेन्टाइनमा राखिएका १८१ जनाकै रिपोर्ट नेगेटिभ

बाँके । बाँकेको नेपाल–भारत सीमा क्षेत्र दशगजास्थित क्वारेन्टाइनमा राखिएका १८१ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ । आरडिटीमार्फत कोरोना परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा गरिएको आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई आजै आ–आफ्नो घर फर्काउने स्थानीय प्रशासनले तयारी थालेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत चन्दका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र उपमहानगरबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले करिब चार घण्टा लगाएर आरडिटी परीक्षण गरेको थियो । उनीहरु सबैको आरडिटी किटबाट परीक्षण गरिएको पनि जनस्वास्थ्य अधिकृत चन्दले जानकारी दिए ।

उनीहरुलाई १५ दिनअघि क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएकाहरु सबै भारतबाट मजदुरी गरेर फर्किएका हुन् । १५ औं दिनमा गरिएको आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका नेपालीहरुले आफूहरुमा कोरोना संक्रमण नरहेको र घर फर्किन पाउने भन्दै खुशी व्यक्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमूख डा.धवलसम्शेर राणाले क्वारेन्टाइनमा दुई साता लामो बसाईका क्रममा अनुशासित ढंगले सहयोग गरेकोमा धन्यवाद पनि दिए । उनले आ–आफ्नो घर पुगेपछि पनि सात दिनसम्म अनिवार्यरुपमा परिवारका सदस्यहरुबाट टाढै रहेर होम क्वारेन्टाइनमा बस्न पनि उनीहरुलाई सुझाव दिए ।

बाँकेबाट थप १५ नमुना पठाइयो

बाँके जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका कोरोना भाइरस (कोभिड–१९) शंकास्पद १५ व्यक्तिहरुको ‘थ्रोट स्वाब’ परिक्षणका लागि बुधबार नमुना संकलन गरि भैरहवा पठाइएको छ ।

भेरी अस्पतालबाट तीन, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट आठ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट चार गरि जम्मा १५ जनाको ‘स्वाब’ परिक्षण गर्नका लागि ५ नम्बर प्रदेश प्रयोगशाला भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हालसम्म बाँकेका विभिन्न अस्पताल र विभिन्न क्वारेन्टाइनबाट गरि २७९ जनाको कोरोना परिक्षण गरिएको छ । कोरोना परिक्षण गरिएका सबैको नतिजा ‘नेगेटिभ’ आएको छ । ‘पिसिआर’ बिधिबाट ७६ र ‘र्‍यापिड’ बिधिबाट २०३ जनाको कोरोना परिक्षण गरिएको र सबैको नतिजा ‘नेगेटिभ’ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार ११:४७