सूचनाको शक्ति - The Power Of Information

        

लकडाउनमा सदरमुकाममै चोरी, प्रहरी नै संलग्न रहेको स्थानीयको आशंका

बझाङ । देशभर लकडाउन चलिरहेको छ । बाटो, सडक अनि सवारी साधनमा पनि प्रहरीले हिँड्न दिएको छैन । गाउँघर सुनसान छन्, घर बाहिर निस्किँदा प्रहरीको गाली अनि भाटा खानुपर्ने अवस्था छ । घरबाट निस्किन जो कोहीलाई डर र त्रास छ । किनकी प्रहरीले कतिबेला हकार्छ कसैलाई थाहा छैन ।

यहीबेला प्रहरीलाई कसैले माथ दिन्छ भने त्यो प्रहरीभन्दा धेरै चलाख छ । लकडाउनमा आम नागरिकलाई नियन्त्रण गर्न सक्ने प्रहरीले त्यो चलाख मान्छेलाई नियन्त्रण गर्न सकेन । किनकी उ नामुद चोर थियो । प्रहरी सुरक्षामा लकडाउन चलिरहेकै बेला घरमा भएको जायजेथा चोरी गर्न सफल भयो ।

घटना बझाङ्ग सदरमुकाम चैनपुरमा नयाँ बर्षमा घटेको हो । नयाँ बर्ष मनाउन घर गएको बेला सुनचाँदीका गरगहना, टेलिभिजन र नगदसहित चोरी भएको छ । नयाँ बर्ष तथा कोरोना भाइरसले गर्दा लकडाउन भएपछि कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताला फोडेर एक थान ल्यापटप, सुनचाँदीका गहनासहित नगद पैसा चोरी भयो ।

सदरमुकाम चैनपुरस्थित समता स्कुल नजिकै रहेको परियार र उनका छिमेकीको घरमा चोरी भए पनि प्रहरीले अहिलेसम्म चोरीमा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । प्रहरी घेराभित्र लकडाउन चलिरहेका बेला चोरी हुनुलाई पीडित परियार, उनका छिमेकी बिरु ओखेडा र स्थानीयहरुले रहस्यमय भनेका छन् ।

पीडित परियारले भने, ‘म घरतिर गएको थिए । मेरो कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याइएको रहेछ । छिमेकीले फोन गरेर मलाई जानकारी गराउनुभयो । गाउँबाट पर्केर आउँदा ताला फोडेर कोठामा भएका सबै सामान चोरी गरिएको रहेछ । हामीहरु गाउँको घरमा गएको मौका छोपेर चोरी भएको छ ।’ प्रहरी भने यस विषयमा मौन छ ।

लकडाउन चलिरहेकै बेला जिल्ला सदरमुकाममै भएको चोरीको घटनामा स्थानीयहरुले समेत प्रहरीको मिलेमतो भएको आशंका गरेका छन् । स्थानीयहरु भन्छन्, ‘लकडाउन चलिरहेकै बेला सदरमुकाममै दिनदहाडै यसरी चोरी हुन्छ भने प्रहरीको पहुँच नभएका गाउँहरुको अवस्था के होला ? यसमा प्रहरीकै मिलेमतो छ । तत्काल चोरीमा संलग्नहरु पक्राउ हुनुपर्छ ।’

लकडाउन चलिरहँदा र यस्तो समयमा सामान्य मान्छे पनि आवातजावतमा रोक लगाइरहेका बेला सदरमुकाममै यसरी चोरी बढेपछि सदरमुकामबासीले प्रहरीप्रति आशंका व्यक्त गरेका छन् । तर, घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक नेत्र बोहरा चोरीमा संलग्नहरुको खोजी भइरहेको बताए ।  तर उनले आफ्नो बचाउँ गर्दै भने, ‘त्यो क्षेत्रमा एक जना काम नलाग्ने असई छ, यसैलाई सोध्नुस् ।’

जिल्ला प्रहरीकै अधिकृतले आफू मातहतलाई सोध्नुस् भनेर पन्छिनुले पनि चोरीको घटना थप रहस्यमय बनेको छ । घटनामा आफु मातहतका प्रहरी कर्मचारीलाई दोषारोपण गर्दै घटनाबाट पन्छिएका छन् । सदरमुकामबासीले प्रहरी प्रमूखले नै घटनाका विषयमा उदासिनता देखाएको भन्दै चोरीमा प्रहरीकै संलग्नता रहेको दावी गरिरहेका छन् ।

यसै विषयमा बझाङ्गका प्रहरी प्रमूख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमलाई सम्पर्क गर्दा उनी पनि यस विषयमा जानकारी नभएको भन्दै पन्छिएका छन् । उनले प्रहरी निरीक्षक बोहराको बचाउँ गर्दै पत्रकारहरुसँग चिनजानका आधारमा कुरा गरेर यस्तो भनिएको हुनसक्ने बताए । डिएसपी बमले गैरजिम्मेवारपूर्ण जवाफ दिँदै भने, ‘यस्तो बोलेको मलाई थाहा छैन म बुझौला ।’

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार २०:४२