बाँके । कोरोना संक्रमणका बेला सरकारलाई निशुल्करुपमा उपलब्ध गराएको ह्याण्ड सेनेटाइजर विक्री गरेपछि नेपालगन्जस्थित कमला मेडिसिनलाई शीलबन्दी गरिएको छ । एसआर नामक ड्रग कम्पनीले निशुल्करुपमा उपलब्ध गराएको सेनेटाइजर कमला मिडिसिनले विक्री वितरण गरेको पाइएपछि प्रहरीले छापा मारेको छ ।
कमला मिडिसिनले एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई निःशुल्करुपमा उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर ५०० एमएल प्रतिबोत्तल रु.६०० मा बिक्री वितरण गरेको पाइएपछि प्रहरीले उक्त कम्पनीमा छापा मारेर शीलबन्दी गरेको हो ।
एसआर नामक ड्रग कम्पनीले सरकारलाई निशुल्करुपमा उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोत्तलमा विक्रीका लागि होइन (नट फर सेल्स)समेत लेखेको भए पनि अर्को लेवल लगाएर छोपिएको अवस्थामा प्रतिबोत्तल रु.६०० का दरले विक्री वितरण भइरहेको पाइएपछि प्रहरीले उक्त फर्ममा शीलबन्दी गरेको जनाएको छ ।
सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको सेनेटाइजर सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीहरुको मिलेमतोमा बिक्री गरेको पाइएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरेको प्रारम्भीक अनुसन्धानपछि कमला मेडिसिनमा शीलबन्दी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर वलीले शीलबन्दीपछि छानविन भइरहेको जानकारी दिए । सरकारले निशुल्करुपमा उपलब्ध गराएको सेनेटाइजर विक्री वितरण गरिरहेको भन्ने सूचना पाएलगत्तै बाँके प्रहरीले मंगलबार बेलुका कमला मेडिसिनमा छापा मारेको थियो ।
नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको होटेल सिग्नेट इन कृष्णाका मालिकसमेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरेको ड्रग कम्पनीले लामो समयसम्म नेपालका बिभिन्न जिल्लामा औषधी सप्लाई गर्दै आइरहेको थियो । कोरोनाको संक्रमण बढेसँगै कमला मिडिसिनमार्फत ह्याण्ड सेनेटाइजर अवैधरुपमा बिक्री वितरण भएको पाइएको हो ।
सत्यपाटी ।