सूचनाको शक्ति - The Power Of Information

        

लकडाउनमा मजदुरको भोक मेटाउँदै शीख समुदाय

नेपाल–भारत सीमा नजिक रहेको क्वारेन्टाइनमा राखिएका नागरिकहरुका लागि खाना, पानी लैजाने तयारी गर्दै शीख समुदायका अगुवाहरु ।

नेपाल–भारत सीमा नजिक रहेको क्वारेन्टाइनमा राखिएका नागरिकहरुका लागि खाना, पानी लैजाने तयारी गर्दै शीख समुदायका अगुवाहरु ।

बाँके । कोरोना भाइरसको जोखिमलाई हेर्दा यतिबेला देश पूर्णरुपमा लकडाउन छ । देशमा कोरोना भाइरस संक्रमित संख्या दिनानुदिन बढ्दै गएपछि मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन लम्ब्याएको छ । सरकारले लकडाउनको अवधि १२ दिन थप गर्दै वैशाख १५ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।

लकडाउनले विशेषगरी बाहिरी जिल्लाका बासिन्दा, ज्याला मजदूरी गर्ने तथा गरीब परिवारलाई सास्ती भएको छ । लकडाउनका कारण सिर्जित परिस्थितमा अलपत्र परेका र भोकभोकै रहेकालाई खाना खुवाउन धेरैतिर सहयोगी हातहरु अघि नबढेको भने होइन । तर, त्यसमध्ये शीख समुदाय अग्रपंक्तिमा रहेका छन् ।

नेपालगन्जमा रहेका शीख समुदायका अगुवाहरुले लकडाउन शुरु भएसँगै अलपत्र परेका र भोकभोकै रहेकालाई भण्डारा चलाएर खाना खुवाइरहेका छन् । विपतमा परेकालाई सहयोग गर्न जहिले पनि अग्रपंक्तिमा रहने शीख समुदायले कोरोना भाइरस संक्रमणको जोखिममा पनि मानवीय सहयोग गर्न पछि परेनन् ।

प्राकृतिक प्रकोपका बेला होस् वा अन्य धार्मिक तथा सामाजिक कार्यमा नेपालगन्जमा रहेका शीख समुदाहरु जहिले पनि सहयोगी हात बढाउन अग्रसर रहन्छन् । संख्यात्मकरुपमा नेपालमै न्यून संख्यामा रहेका शीख समुदायको बाँकेमा बाक्लो उपस्थिती छ । यही शीख समुदायका अगुवाहरु जोखिम परिस्थितीमा पनि सहयोगका लागि अघि बढिहाल्छन् ।

चाहे त्यो विपतको समय होस् वा अन्य कुनै सामाजिक तथा धार्मिक कार्य । देशमै सवैभन्दा बढि संख्यामा शीखहरुको बसोबास बाँकेमा रहेको छ । कोरोना भाइरसको संक्रमण बढेसगैं सरकारले गरेको लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई शीख समुदायले निःशुल्क खाना खुवाइरहेका छन् ।

नेपाल–भारत सीमानाकामा अलपत्र अवस्थामा रहेका १८१ जना नेपालीलाई विहान साँझको नास्ता, पानी र खाना खुवाएका शीख समुदायको यो सहयोगी भावना रोकिएन बरु दिनानुदिन बढ्दै गयो । सहयोगी भावबाट अग्रसर शीख समुदायले लकडाउनमा कोही पनि भोकै बस्न नपरोस् भन्दै नेपालगन्जस्थित गुरुद्वारामा नियमित र निरन्तर निःशुल्क भोजन खुवाइरहेका छन् ।

लकडाउन भएसँगै शीख समुदायले नेपालगन्जको गुरुद्वारामा भण्डारा चलाइरहेका छन् । शीख समुदायका अगुवा अमरजित सिंह आपतमा परेका नागरिकलाई खाना खुवाउने र सहयोग गर्ने हाम्रो परम्परा रहेको बताउँछन् । क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई समस्या भएको थाहा पाए लगत्तै शीख समुदायले निःशुल्क खाना खुवाइरहेको उनले बताए ।

उनले भने, ‘क्वारेन्टिनमा बसेकालाई मात्रै होइन, क्वारेन्टाइन सुरक्षार्थ खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई निःशुल्क खाना खुवाइरहेका छौं । अझ यो कठिन अवधिमा अलपत्र परेका नागरिकलाई समेत भोजन खुवाइरहेका छौं ।’ देशभर लकडाउन जारी रहेकाले देशभरको ब्यापार ब्यवसाय ठप्प छ । जनजीवन कष्टकर बन्दै गएको छ ।

यस्तो कठिन अवस्थामा बढिभन्दा बढि सहयोग गर्ने उद्देश्यका साथ शीख समुदायका अगुवा नियमितजसो नेपालगन्ज विपी चोकस्थित गुरुद्वारामा भेला हुन्छन् । सामाजिक दूरीलाई समेत उत्तिकै पालना गरेका यी समुदायले भोक, प्यास तथा अप्ठेरोमा परेका नागरिकलाई खोजी खोजी सहयोग गरिरहेका छन् ।

शीख समुदायका अगुवा अमरजितका अनुसार यस्ता ब्यक्तिका लागि नियमितरुपमा खाना पकाउने गरिएको छ । नियमित ज्याला मजदूरी, रिक्सा, ठेलागाडा तथा (विपन्न) आर्थिक अभाव रहेका ब्यक्तिहरुलाई लक्षित गरि नियमितरुपमा खाना खुवाउँदै आएको शीख समुदायका अगुवा अमरजितले बताए ।

नेपालगन्जमा रहेको शीख समुदायले विशेषगरी आफ्नो महत्वपूर्ण चाडपर्व तथा परम्पराका अवसरमा गुरुद्वारामै लङ्गरको व्यवस्था गर्ने गर्छ । जहाँ निःशुल्क भोजन खुवाइन्छ । अहिले कोरोनाजस्तो महामारीका बेला पनि शीख समुदायले निःशुल्क भोजन खुवाइरहेका छन् । यो समुदायलेसामुहिकरुपमा रकम संकलन गरि सोही रकमबाट दिनहुँ खाना खुवाइरहेका छन् ।

शीख समुदायले गरिरहेको सहयोगलाई अनुसरण गरि अन्य समुदाय तथा संस्थाले पनि सहयोग गरिरहेको शीख सुमदायका अर्का अगुवा हरिनाम सिंह बताउँछन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण सास्ती र समस्याग्रस्त परिवारलाई सहयोग गर्ने शीख समुदाय बाँकेमा अग्रस्थानमा देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार १२:२४