सूचनाको शक्ति - The Power Of Information

        

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ पुग्यो

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ दिनअघि बेलायतबाट आएका तीन जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई हिजोमात्रै अस्पताल भर्ना गरिएको थियो ।

अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमूना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो । उनीहरू पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए ।

८१ वर्षीया आमा, ५८ वर्षीय छोरा र ५२ वर्षीया बुहारीलाई सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । विदेशबाट आएका मानिसलाई यापिड टेस्ट गर्ने क्रममा आमा, छोरा र बुहारी गरी तीनै जनामा प्रारम्भीक चरणमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन । नगरप्रमुख कृष्णहरि थापाका अनुसार पनि चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको हो ।

सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ गते कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । सनसिटी अपार्टमेन्ट अहिले सिलबन्दी गरिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ पुगेको छ । सनसिटी अपार्टमेन्टमा करिब ५०० परिवार बस्छन् । अपार्टमेन्टका पाँच वटा भवन छन् ।

यसअघि कञ्चनपुरमा एक जना, कैलालीमा चार जना, बाग्लुङ्गमा दुई जना, पर्सामा तीन जना, रौतहटमा एक जना, काठमाडौंमा तीन जना र भक्तपुरमा दुई जना कोरोना भाइरस संक्रमित भेटिइसकेका छन् । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले ‘लकडाउन’मा थप कडाई गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १४:०१