सूचनाको शक्ति - The Power Of Information

        

भारतमा लम्बियो ‘लकडाउन’

बाँके । भारतमा लकडाउन लम्बिएको छ । गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन् । २५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्ने यहीमात्रै अन्तिम विकल्प भएको बताएका छन् । ‘देशवासीको तपस्या र त्यागका कारणा भारतमाकोरोनाका कारण हुने क्षतिलाई धेरै हदसम्म रोक्न सफल भएका छौं,’ उनले भने, ‘सबैको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ तारिखसम्म बढाउने निर्णय सरकारले लिएको छ ।’

पछिल्लो २६ दिनमा देशवासीका नाममा मोदीको यो चौथो सम्बोधन हो । भारतमा अहिलेसम्म आठ राज्य र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरिसकेका छन्। यसमा महाराष्ट्र, पश्चिम बंगाल, पञ्जाब, ओडिशा, अरुणाचल प्रदेश, मेघालय, तेलंगाना र तमिलनाडु छन् ।

केन्द्र शासित प्रदेश पुडुचेरीले पनि लकडाउन बढाउने घोषणा गरिसकेको छ। भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ । हिजो मात्रै भारतमा १२ सयभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । भारतमा हालसम्म १० हजार ४५३ कोरोना संक्रमित भेटिँदा ३५८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार ११:३७