सूचनाको शक्ति - The Power Of Information

        

कोरोना : विश्व, नेपाली समाज र हाम्रो दायित्व

जब सारा संसार आज कोरोनाको कारण लाकडाउनमा छ । आज हरेक मुलुक आ–आफ्नो स्तर र क्षमता अनुसार कोरोनासँग लड्दैछन् । सबै शक्तिशाली कहलिने राष्ट्रहरु जो शक्ति प्रदर्शनका नाममा एक अर्कोलाई आधुनिक आणविक हतियारबाट डराउने गर्थे । उनीहरु आज कोरोनाबाट हार मानेर लड्न नसकी हात खडा गरिसकेछन् । हिजो आफ्नो परमेश्वरलाई बिर्सेर आफुलाई सबथोक सर्वशक्तिमान ठान्नेहरु आज तिनीहरु सबैले आ आफ्नो धर्म र आस्था अनुसार आफ्ना ईश्वरलाई सम्झिँदै यस कठिन परिस्थितिबाट निकाल्न हारगुहार गर्दैछन् ।

तब हाम्रो देशबासीले यसलाई मजाक ठानेर सरकारको आदेशको अवहेलना गर्दै आफ्नो संवेनहीनताको प्रमाण दिइरहेका छन् । अवस्था यो छ कतिले यसको गम्भीरता नै नबुझी लकडाउन तोडेर सडकमा जथाभावी हिड्दैछन् भने कोहीले त हदै पार गरी सडकमा क्रिकेट खेल्दै बसेका छन् भने कोही खाली सडकमा सेल्फी लिँदै गरेका छन् अझ कोही त यस्ता नि छन् जो लकडाउनको निरक्षण गर्दै मोटरसाइकिल सररर गुडाउँदै हिडेका छन् । आज विश्वको लागि कोरोना एक ठूलो चुनौतीको रुपमा फैलिएको छ । जसको औषधी उपचार अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

ARY NEWS PAKISTAN UPDATE अनुसार अमेरिकन राष्ट्रपति डोनल ट्रम्पले आफनो व्यक्तिगत आईडिमा एउटा महत्वपूर्ण पोष्ट गरेका छन् । जसमा उल्लेख छ, ‘आज हामीले एक जना कोरोना भाईरस संक्रमितलाई Hydroxychloroquine sulfate 200mg IV दिएपछि तिनको अवस्थामा सुधार आएको हुनाले भोलिदेखि यो औषधि सबै स्थानमा लागू गर्ने आदेश दिएका छन् । जुनकी यो रोगको अचुक ओखती होइन, एउटा परिक्षणको नतिजा मात्र हो ।

बच्ने उपाय

बच्ने पहिलो उपाय नै Stay Home Stay Safe अर्थात घरै बसौं सुरक्षित रहौं । यसबारे डाक्टरहरु भन्छन् यो यस्तो महामारी हो जुन कि एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ त्यस कारण जति सक्दो घरै बस्नुहोस् । कसैसँग भेट्न नजानुहोस् न कसैलाई आफ्नो घर नबोलाउनुहोस् । बरु सेल्फ क्वारेन्टाइन अर्थात् सामाजिक र सार्वजनिक भेटघाटबाट टाढा रहनुहोस् आ–आफ्नो घरमा बसी आफु पनि बाच्नुहोस् र अरुलाई पनि बचाउनुहोस् ।

बिना कारण घरबाट बाहिर ननिस्किनुहोस् निस्किने अवस्था आएमा मास्क लगाएरमात्र निस्किने गर्नुहोस्, जथाभावी कुनै सामान पर्खाल रेलिङ्ग वा अन्य वस्तु नछुनुहोस्, बेलाबेलामा सेनिटाइजर वा फिटकरी पानीले हात सफा गर्नुहोस् र जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुहोस् साथै कुनै खाले अफवाह नफैलाउनुहोस् । आ–आफ्नो छरछमेकीलाई आवश्यक परेको बेला आफ्नो क्षमता अनुसार सहयोग गर्नुहोस् ।

लकडाउन अवस्था

तर यहाँ त माहोलै बेग्लै सृजना भइसकेछ यस महामारीलाई जनताले हलुका ठानेका छन् । सरकारले गरेको निर्णय विपरित कार्य गर्दैछन् । लकडाउन हुँदाहुँदै मानिसहरु घर बाहिर भीडभाड गरी बसिरहेका छन् । लकडाउनको पहिलो दिन भारतबाट आएका करिब ५०० जनालाई सुरक्षाको दृष्टिकोणले सबैको भलोलाई मध्येनजर गरी क्वारेन्टाइन अर्थात महेन्द्र बहुमुखी क्याम्पसमा राखियो । तर बिडम्बना सबै मानिसहरु लुकीछिपी त्यहांबाट टाप कसे । हुन् त सरोकारवालाले क्वारेन्टाइनमा आफुखुशी राखेका थिएनन्, उनीहरुले हामी जनताको भलो चिताएर नै त्यो कदम चालेका थिए ।

ताकी भारतबाट आएकाहरुको राम्ररी अब्जरवेशन हुन् सकोस् यदि कोही त्यस्ता व्यक्ति फेला पर्छन् जो कोरोना लागेको आशंकामा छन् तिनीहरुलाई स्वास्थ्य व्यक्तिहरुबाट टाढा राखि उचित देखभाल र उपचार गर्न सकियोस् । जसले गर्दा अरुलाई नसरोस् । राखेको केही बेरमा नै क्याम्पस खालि भइदियो । अब यदि कोही कोरोनाको चपेटामा आएको छ होला भने त्यसको पहिचान कसरी हुन् सक्ला त । उनीहरुको चरम लापरवाहीका कारण उनले आफ्नो घर परिवारलाई समेत असर पार्ने हुन् ।

लकडाउनको गम्भीरतालाई न बुझ्दा विश्वस्तरमा नतिजा

लकडाउन पनि सरकारले जनताकै हितका लागि लागु गरेको हो । अपशोच जनताले बुझ पचाएझैं व्यवहार गरिरहेका छन् । जसको परिणाम दुखदायी हुनसक्छ । आजभन्दा ठिक एक महिनाअघि इटालीमा जम्मा पाँच जना संक्रमित र मृत्युदर शून्य थियो । गम्भीरतालाई बुझी सरकारले त्यहां लकडाउनको अर्डर दियो । जनताले त्यसलाई हल्का रुपमा लिए र लकडाउनको बेवास्ता गर्दै घर बाहिर जथाभावी निस्किरहे ।

विश्वभरी संक्रमितहरुको संख्या १९,१९,९१३, निको भएका संख्या ४४९५८९, मृत्यु हुनेको संख्या १,१९,६६६, अमेरिकामा ५,८७,१५५ संक्रमित र मृत्यु हुनेको संख्या २३,६४४ यसै गरी छिमेकी मुलुक भारतमा १०,४५३ जम्मा संक्रमित जसमध्ये १,१५३ निको भएका, ३५८ मृत्यु भएका र हाल संक्रमित संख्या ८,९०२ छ र नेपालमा जम्मा संक्रमित सख्या १४ पुगेछ । अब तपाईको इच्छा सरकारको निर्देशन मान्ने कि देशलाई अरु देशजस्तै बनाउने भनी । स्मरण रहोस् उत्कृष्ट स्वास्थ्य सेवा हुने देशको सूचीमा इटाली दोस्रो नम्बरमा पर्दछ । त्यहाँका जनताले गम्भीरता साथ पालना गरेन्न् र आज परिणाम सबैको सामु छ ।

कोरोनाको पहिचान

विश्व स्वास्थ्य संगठनका अनुसार १०४ डिग्रीभन्दा बढी ज्वरो आएछ भने कोरोनाको लक्षण हुन् सक्छ भनिएछ । त्यस्तै डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ भन्छन् ।

कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?
– अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
– सुख्खा लहरे खोकी लागेमा
– सास फेर्न निकै गाह्रो भएकोमा
– छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?
– रुघा लागेमा
– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
– मन्द ज्वरो आएमा
– सामान्य खोकी लागेमा
– हाच्छ्युं आइरहेमा
– हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो । ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ । बाँकी १० प्रतिशतलाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ । केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २.३ प्रतिशत को मात्र मृत्यु हुन्छ । यो २.३ प्रतिशत मृत्यु हुने धेरै रोगहरु छन् । जहाँ अहिले विश्वका करिब सयभन्दा बढी मुलुकमा जसलाई विकसित देशहरुमा गणना गरिन्छन् । ती देशहरुमा कोरोना भाइरस भन्ने महामारीले गर्दा दिनहुँ हजारौं मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था छ ।

संसाधनको हिसाबले नेपाल
अब नेपालको सन्दर्भमा कुरा गरौं भने नेपालको जनसंख्या करिब ३ करोड छ ।
यदि १०५ संक्रमित भएमा ३० लाख,
यदि १०५ लाई आइसीयु चाहिएमा ३ लाख,
यदि संक्रमीतमध्ये १५ लाई मेकानिकल भेन्टिलेसन चाहिएमा ३ हजार आवश्यक पर्न सक्छ ।

सन् २०१६ अनुसार नेपालको अवस्था हेर्ने हो भने नेपालमा आइसीयु बेड संख्या ४५०, आइसीयु बेडसहित मेकानिकल भेन्टिलेटर संख्या १६१ छ । यो अवस्था गएको चार बर्षमा १० प्रतिशतले परिवर्तन भएको अनुमान गर्दा पनि ४९५ आइसीयु बेड र १७७ भेन्टिलेटर हुन आउँछ । ती मध्ये त ५० प्रतिशत बेड सधैं अरु बिरामीले ओगटेको हुन्छ । कोरोनाकै लागि विज्ञ छैनन् । हामीकहाँ र भएका डाक्टरहरु पनि यस्तो विषम परिस्थितिका लागि प्रयाप्त छैनन् । यसो खबरहरु हेर्दा क्वारेन्टाइन क्षेत्र बनाएका तस्वीरहरु समाचारपत्र र सामाजिक सञ्जालमा पर्याप्त पाइन्छ ।

तर त्यो हाम्रो घरसरह नै हो त्यहाँ पनि खाटहरु राखिएका छन्, यद्यपी कोरोनाको उपचारका लागि चाहिने संशाधनहरु जिरो छ । तसर्थ यसो हेर्दा र मनन गर्दा यस विपदासंग लड्न हामी भौतिकरुपमा निकै अपुरो छौं । नेपाली समाजः हाम्रो नेपाली समाज हुन त सभ्य समाजमा गनिन्छ तर यतिबेला अटेरी गरी रहेछ । लकडाउनको सरासर उलंघन गर्दै घर बाहिर निस्किने गरी रहेछन् । हाम्रो देश गरीब देशको सूचीमा पर्छ यहांका अधिकांश जनता गरीबी रेखामुनि पर्छन् ।

जसलाई लाकडाउनमा दुईछाक टार्न धौधौ परेछ । जसलाई महशूस गरी राज्यले गरीब जनतालाई केही राहत होस् भनी खाद्यान्न वितरण गर्ने निर्देशन दिएको छ । तर यहां अवसरवादी हरु यस महाविपदाको समयमा पनि भ्रष्टाचार गर्न पछि परेन्न् । अखाद्य र कुहिएका खाद्यान्न बाँडे, त्यसमा पनि आफन्त नातागोता र पार्टी कार्यकर्ताहरुलाई प्राथमिकता दिए । वास्तविक गरीबहरु भने अझै भोटभोकै बस्न बाध्य छन् ।

हाम्रो दायित्व

त्यहाँ यस्तो ठुलो महामारीसँग लड्न र लडेर जित्न सक्ने सहज अवस्था र व्यवस्था छैन । त्यस कारण कृपया समय र अवस्थाको गम्भीरतालाई बुझौं र अरुलाई पनि बुझाऔं । गरीब मजदूर छरछमेकीलाई आवश्यकता र क्षमता अनुसार मदत गरौं आश्वासन दिउँ आफु पनि न आत्तिउँ धैर्यता र सावधानी अपनाऔं सतर्क रहौं र अरुलाई पनि सचेत गरौं । आफु बाँच्न र आफ्नो परिवारलाई बचाउन एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं लकडाउनको पूर्णपालना गरौं । जनता कर्फयू अर्थात् लकडाउनको अवस्थामा प्रहरीलाई देखेर भाग्ने र प्रहरी गइसकेपछि पुनः बाहिर निस्किने गैरजिम्मेवारी कार्य नगरौं ।

जनप्रतिनिधिहरुले यस्तो विषम परिस्थितिमा भ्रष्टाचार नगरौं । पत्रकारहरुले राहत वितरणको रिपोर्टिङ्गका साथै वास्तविक गरीबलाई राहत बाड्न गरीबहरु पहिचान गरी राज्यलाई सहयोग गरौं । कोरोनाबाट बच्न साझा गरिएका निर्देशनहरुको पालना गरौं । जस्तैः बिना काम घर बाहिर नजाऔं, जानै परे मास्क लगाएर मात्र जाऔं । पटकपटक सेनेटाइजर वा फिटकरी पानीले हात सफा गरौं । कुनै वस्तु अनावश्यक नछोऔं छोइहाले साबुन पानी हात धोऔं । सरसफाईमा बढी ध्यान दिउँ र एकान्तमा बसौं ।

कोरोनाको कुनै लक्षण देखिएमा तुरुन्त चेकजाँच गराउन जाऔं र समाजबाट आफुलाई अलग राखौं । सकभर प्रयास गरौं, कोरोनाजस्तो विश्वव्यापी महामारीलाई कुनै धर्म समुदायसँग जोडेर साम्प्रदायिकता नगरियोस् । यो एक महामारी हो, जुनकि कुनै पनि एकजना व्यक्तिको लापरवाहीका कारण फैलिनसक्छ । त्यसकारण कुनै एक व्यक्तिको गल्तीलाई आधार बनाई उसको सिंगो धर्म र समुदायमाथि दोषारोपण नगरौं । आपसी सद्भाव र भाइचारा कायम राखौं । किनभने संसारकै लागि एउटा ठूलो चुनौती हो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार ११:००