सूचनाको शक्ति - The Power Of Information

        

भारतबाटै नेपालमा कोरोना संक्रमणको जोखिम

काठमाडौं । दक्षिण एसीयामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनिरहेको छिमेकी मुलुक भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकबाट मुलुकभित्र खतरा बढ्न सक्ने प्रक्षेपण गरिएको छ । दिनानुदिन भारतमा संक्रमण बढिरहेको र लकडाउनका समयमा पनि सीमाबाट नेपाल भित्रिने कार्य जारी रहेका कारण यो प्रक्षेपण स्वभाविक देखिएको हो ।

तेस्रो मुलुकसँगको हवाई उडानको काम समयमा नै रोकिएका कारण कोरोनाको संक्रमण स्थलगत मार्गबाट नेपाल भित्रिनेमार्फत नै हुनसक्ने अनुमान गरिएको हो । लाखौंको संख्यामा भारतमा नेपाली रोजगारीका लागि पुगेका छन् । लकडाउनका कारण त्यहाँ रोजगारी खोसिएपछि विविध सीमा नाकाबाट मुलुक फर्किनेको संख्या कम छैन ।

वैधानिक नाकामा कडाई भए पनि सुरक्षा संयन्त्रको पहुँच नभएका कतिपय सीमा क्षेत्रबाट अझै पनि नेपाल भित्रिने क्रम कम नभएका कारण भारतबाट नै नेपालमा संक्रमण फैलने जोखिमको प्रक्षेपण स्वभाविक देखिएको छ । यसको एउटा प्रमाणचाहिँ हाल पुष्टि भएका १२ जनामध्ये ५ जना भारतबाट नेपाल छिरेका हुन् । तीन जना पर्सामा र अन्य दुई पनि भारतबाट नै नेपाल आएका थिए ।

यो क्रमलाई रोक्नका लागि सीमा नाकाको पाबन्दी र कडाई मुख्य रहेको, विविध ठाउँमा निगरानी बढाउनुपर्ने सुझाव सरकारलाई स्वभाविकरुपमा दिनुपर्ने कतिपयले बताएका छन् । यस्ता सम्भावित व्यक्तिको संख्या अझ कम नरहेका तथ्य पनि छन् । भारतमा भएको मुस्लिमको निजामुद्धिन सम्मेलनमा भाग लिएर आएका तीन जना नेपाली मुस्लिमलाई सुनसरीको होम क्वारेन्टाइनमा सुरक्षा निकायको निगरानीमा राखिएको थियो ।

यस्तै, सीमा क्षेत्रमा रहेको मस्जिदमा १८ जनाभन्दा बढीलाई पनि राखिएको तथ्यलाई साधारण हिसाबले बुझ्न नहुने बताइएको छ । भारतमा बस्न र खानको समस्या भएका नेपाली नागरिक तथा नेपाल सुरक्षित रहेको भन्ने सीमावर्ती क्षेत्रमा रहेका भारतीय नागरिक पनि अनेक माध्यमबाट फर्किनु खतरा हुन सक्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १४:५३