बाँके । प्रहरी प्रशासनको अवरोध र नेताहरुको तीब्र विरोधले गर्दा नेपालगन्ज उपमहानगरपालिकाले विपन्नलाई खाना खुवाउन भण्डारा सञ्चालन गर्ने भनि गरेको निर्णय रद्द गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले विपन्नलाई नगरका पाँच ठाउँमा खाना खाने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
लक्षित वर्गका नाममा राहत र सहयोग वितरणमा देखिएको अनियमितता र ब्रम्हलुटले आजित नागरिकले उठाएका विरोधका आवाजलाई मत्थर पार्न उपमहानगरपालिकाले जनभावना नबुझेरै गरेको निर्णय एक दिन पनि टिक्न नसकेर रद्द भएको हो । उक्त निर्णयको चौतर्फी विरोध र आलोचना भएको थियो ।
२३ वटा वडा रहेको नगरमा पाँच ठाउँमा मात्रै खाना लगाउदा भीडभाड हुने भन्दै धेरैले विरोध गरेका थिए । स्थानीय प्रशासनलाई नसोधेर गरिएको निर्णय एक दिन पनि टिक्न पाएन । स्थानीय प्रशासनको अवरोधपछि खाना खुवाउने कार्यक्रम रोकिएको हो । उपमहानगरपालिकाले भण्डारा लगाउने निर्णय गर्नु र आमनागरिकलाई भण्डारामा खाना खान आउन निमन्त्रणा गरेको भन्दै चर्को विरोध भएको थियो ।
उपमहानगरपालिकाले हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिर पार्क, रामलिला मैदान, आदर्श मावि राँझा र कोरियनपुरस्थित आपको बगियामा खाना खाने व्यवस्था गर्ने निर्णय गरेको छ । विशेष गरेर भाडामा बसेका व्यक्तिलाई लक्षित गरेर खाना खाने कार्यक्रम बनाइएको थियो । खाना खुवाउने कार्यक्रम स्थगित गरेर नेपालगन्ज उपमहानगरपालिका कार्यालय राहत नै बाँड्ने तयारीमा जुटेको छ ।
उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले खाना खुवाउने कार्यक्रम स्थगित गरेको जानकारी दिँदै अब राहत दिने निष्कर्षमा पुगेको बताए । उनले राहत कति, कसरी दिने भन्ने विषयमा फेरि बोर्ड बैठक बसेर निर्णय गर्ने जानकारी दिए । नेपालगन्जमा पाँच हजार बढी भाडामा बस्ने मानिस रहेको आँकलन गरिएको छ । उनीहरुलाई उपमहानगरपालिकाले खाना खुवाउने निर्णय गरेको थियो ।
अब भने राहत नै दिने तयारीमा जुटेको छ । यसअघि वडा कार्यालयले आफ्नो ठाउँका विपन्नलाई राहत वितरण गरिसकेका छन् । वडाले राहत वितरण गर्दा देखिएको विवादले गर्दा उमपहानगरपालिकाले खाना खुवाउने निर्णय गरेको थियो । यद्यपि, त्यो सफल हुन सकेन । नेपालगन्जमा लकडाउन कायमै रहेको छ । यस्तो अवस्थामा बेला उपमहानगरपालिकाको भण्डारा योजना रोक्नुपर्ने आवाज उठेपछि यसलाई रद्द गरिएको हो ।
सत्यपाटी ।