बाँके । जानकी गाउँपालिका १ साईगाउँका दीलिपकुमार बर्माको एक विघा १० कठ्ठा जमिन छ । उनको जमिन नेपाल–भारत सीमानाको ५०० मिटर दक्षिण भारतीय भूमिमा पर्छ । उक्त जमिनमा लगाएको गहुँ अहिले पाकेर भित्र्याउने अवस्थामा छ ।
सोही ठाउँका गुलाम दर्जीको पनि भारतमा १५ कट्ठा जमिन छ । उनीको गहुँ पनि पाकिसकेको छ । तर, बर्मा र दर्जीको खेतमा पाकेको गहुँ काट्न खोज्दा दुवै देशका सुरक्षाकर्मीले रोकेका छन् । जसका कारण भारतमा जमिन भएका नेपालीलाई गहुँ भित्र्याउन समस्या भएको छ ।
मिन भारतमा भएकाले नेपाल र भारत दुवै देशमा लकडाउन जारी भएकाले दुवै देशका सुरक्षाकर्मीले गहुँ काट्न नदिएको बर्मा र दर्जीको दुखेसो छ । ‘गहुँ पाकेर झर्ने अवस्थामा पुगिसक्यो, काट्न जाँदा सुरक्षाकर्मीले रोकिदिन्छन्,’ बर्मा र दर्जीले भने ।
अहिले लकडाउनका कारण नेपाल–भारत आउजाउ बन्द छ । जसको मारमा किसानहरु परेका छन् । ‘हामीले गहुँ काट्न दिनका लागि पटक–पटक अनुरोध ग¥यौं । हामीलाई गहुँ काटेर ल्याउन एसएसवीले जम्मा तीन दिनको समय दिएको छ,’ बर्मा र दर्जीले भने ।
बर्माका अनुसार एक विघा १० कट्ठा जमिनमा रहेको गहुँ तीन दिनमा काटेर ल्याउन सक्ने सम्भावना छैन । उनले एसएसवीले गहुँ काट्न भारतीय कामदार प्रयोग गर्न नपाउने नियम बनाएकोले तीन दिनभित्र सबै गहुँ काटेर नेपाल ल्याउन सम्भव नभएको बताए ।
लकडाउनका कारण कामदार भेटिने अवस्था नभएको बताउँदै उनले भने, ‘तोकिएको समयमा गहुँ काटेर भ्याउन सकिँदैन । एकातिर भारतीय कामदार लगाउन नपाइने र अर्कोतिर तीन दिनभित्र काटेर भ्याउनुपर्ने नियम एसएसवीले बनाएपछि समस्या भएको छ ।’
जानकी गाउँपालिका–१ का साइगाउँ, पचपोखरा, बढैया र शिवपुरीका ६५ जना किसानको ३० विघा जमिन भारतीय भूमिमा पर्छ । उत्तर प्रदेश अन्तरगत रञ्जितबोझा गाउँ पञ्चायतको रञ्जितबोझामा भएको जमिनमा खेती गरेको गहुँ काट्न नपाएको किसानहरुको गुनासो छ ।
जानकी गाउँपालिका–१ का वडाध्यक्ष मोहम्मद रजा राईले गहुँ काट्ने व्यवस्था मिलाई दिन स्थानीय किसानहरु दैनिक आफ्नो घरमा आउने गरेको बताए । उनले एक हप्ताभित्र काट्न नपाए मुखमा आएको बाली खेर जाने अवस्थामा रहेको बताए ।
‘गहुँ काट्ने बेला भएको छ । काट्न नपाए बाला झरेर जान्छ,’ उनले भने, ‘सुरक्षाकर्मीसँग आग्रह गर्दा माथिको आदेश बिना छोड्न मिल्दै भन्ने जवाफ आउँछ ।’ उनले गहुँ काट्नका लागि दुवै देशका सुरक्षाकर्मीसँग आग्रह गरे पनि हालसम्म कुनै सुनुवाई नभएको बताए ।
सत्यपाटी ।