सूचनाको शक्ति - The Power Of Information

        

निशुल्क भण्डारा लगाउँदै उपमहानगर

बाँके । नेपालगन्ज उप–महानगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएर बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरेर निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । लकडाउनका कारण नेपालगन्जमा भाडामा बसोबास गरिरहेका मजदुर, विद्यार्थी लगायत अन्य विपन्न परिवारलाई दैनिकरुपमा साँझ विहान गरि दुई पटक निशुल्क खाना खुवाउनका लागि नगरका पाँच स्थानमा भण्डारा सञ्चालन गर्ने भएको छ ।

नगरप्रमुख राणाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका ब्यक्ति र विद्यार्थीका सञ्चालन गर्न लागिएको भण्डारामा सरसफाईसँगै भिडभाड हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिएको जानकारी दिए । आइतबार आन्तरिक ब्यवस्थापन गरेर सोमबारदेखि भण्डारा सञ्चालन गर्ने उपमहानगरपालिकाको तयारी रहेका नगरप्रमुख राणाले बताए । नेपालगन्जस्थित हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिरको पार्क, रामलिला मैदान, आदर्श मावि राझा र शिक्षण अस्पताल पछाडीको आँप बगियामा निशुल्क भण्डारा सञ्चालन गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकले भण्डारा सञ्चालन कार्यको अनुगमन तथा सहजीकरणका लागि नगर प्रमुख डा.धवलशम्शेर राणाको संयोजकत्वमा उपप्रमुख उमा थापा मगर, वडा नं.२ का वडाध्यक्ष सुनीलसिंह हमाल, वडा नं.३ का वडाध्यक्ष मो. अयुव सिद्धिकी, वडा नं.७ का वडाध्यक्ष जुम्मन खाँ, वडा नं.९ का वडाध्यक्ष विष्णु लामा, वडा नं.१२ का वडाध्यक्ष वुद्धीसागर सुवेदी, वडा नं.१४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य मञ्जु नेपाली र सिमा कशौधन सदस्य रहेको समिति गठन गरएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका विपन्न समुदायको पहिचान गरि वडा कार्यालयमार्फत राहत वितरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.राणाको अध्यक्षतामा आज बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट उपमहानगरपालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको मृत्यु भएमा राहतस्वरुप १५ लाख रुपैयाँ परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार १४:४८