सांकेतिक तस्वीर
बाँके । नेपालगन्जमा एक जना बालिकाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । कात्र्तिकस्वामी गाउँपालिका–६, बाजुरा घर भएकी १३ बर्षिया बालिका विनिता (नाम परिवर्तन)को शव फेला परेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१९ शान्तिनगरस्थित प्रहरी हवल्दारद्वय रुस्कल शाही र शान्ता मल्ल (पति–पत्नी)को घरमा विगत पाँच बर्षदेखि काम गर्दै आएकी १३ बर्षिया बालिका गएराती रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । घर अगाडी परिसरभित्रै रहेको बगेनाको रुखमा रातो सलले पासो लगाएर झुण्डिएको अवस्थामा बालिका भेटिएकी थिइन् ।
बालिकाका आफन्तहरुलाई बोलाएकाले घरपरिवार आएपछि पोष्टमार्टम गर्ने बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनले रुखमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको र उसलाई कसैले मारेर झुण्ड्याएको हो वा आफै आत्महत्या गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने बताए । बालबालिकालाई कानुनतः बालश्रमिक राख्न नपाइने कानुनी प्रावधान रहेको छ ।
सत्यपाटी ।