सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कार्यालयको आधिकारीक फेसबुक पेज डिलिट

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेजबाट डिलिट गरिएको छ । पेज कसले डिलिट गरेको केही भनिएको छैन । डिलिट भएको पेजबाट बिहीबार ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरूलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ’ भनेर सूचना जारी भएको थियो ।

त्यसको केहीबेरमा सोही पोष्ट तल अपडेट भर्न्दै अर्को जानकारी थपिएको थियो, ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ । सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सहज जानकारी बाँड्न प्रधानमन्त्री कार्यालयले खोलेको फेसबुक पेजबाट छिनको छिनमै आएको फरक फरक जानकारीका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामा द्धिविधा उत्पन्न भइसकेको थियो ।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेजबाट केहीबेरमा यो पोष्ट हट्यो । पोष्ट भएको केहीबेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज नै निस्क्रिय बनेको छ । ओपीएमसीएमएनपी नामक युजरनेम रहेको फेसबुक पेज बिहीबार साँझदेखि निस्क्रिय छ । प्रधानमन्त्री कार्यालयजस्तो संवेदनशील निकायले सूचना प्रवाहमा गरेको लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले काठमाडौंमा अलपत्र परेका व्यक्तिहरूलाई घर जान सहज बनाउन शुक्रबार र शनिबार यातायात खुला गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा पोष्ट अपडेट गरिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज कसले चलाउँछ, यसमा जानकारीहरु कसले पोष्ट गर्छन् भन्ने बिषय बाहिर आएको छैन । उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल आफैंले सञ्चार माध्यममा शुक्रबार र शनिबार यातायात खुला गर्ने भनी आएको समाचार गलत भएको फेसबुकमा लेखेका छन् । डिलिट भएको फेसबुक पेज फेसबुकले मान्यता दिएको पेज हो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार ०९:५०