सूचनाको शक्ति - The Power Of Information

        

डेढ घण्टा पनि टिकेन काठमाडौं बाहिर जान दिने सरकारको निर्णय

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । कोरोना भाइरस (कोभिड–१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ ।

लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोली र पर्सी बाहिर जान दिन निर्देशन दिए ।

कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो । तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । यातायात व्यवसायीहरुले पनि भोली र पर्सी पठाउन सम्भव नभएको बताएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘अहिलेलाई यो सम्भव भएन भनेर बुझ्नुपर्यो ।’ शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय प्रदेश र स्थानीय सरकारका कारण फिर्ता लिनु परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गृह मन्त्रालयले पनि एक विज्ञप्ति प्रकाशित गरी काठमाडौँ उपत्यकाबाट बाहिर जान दिने निर्णय नभएको जानकारी गराएको थियो ।

त्यसअघि रक्षामन्त्री पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले उपत्यकाबासीलाई शुक्रबार र शनिबार बाहिर जाने दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्ना आधिकारिक फेसबुक पेजमा सूचना राखेको थियो । यो सूचना एकाएक भाइरल भएको थियो ।

तर रक्षामन्त्री ईश्वर पोखरेल र गृह मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै समाचार झुटो भएको र त्यस्तो निर्णय नभएको बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो पुरानो स्टाटसलाई सम्पादन गर्दै तल लेखेको छ, स्थानीय तथा प्रदेशस्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सी काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।

उच्चस्तरीय समितिको निर्णय बाहिरिए लगत्तै प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका थिए । सामाजिक सञ्जालमा उनले लेखेका थिए, काठमाडौँबाट बाहिर जान दिने र वाहिरवाट काठमाण्डौ जान नदिने कुरा सत्य होइन । लकडाउनको अर्थ लकडाउन नै हो । वरु वेखर्चीलाई राहत दिने हो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १९:४८