भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो । विश्वका मानिस कोरोनाको कहरमा रहेको छ । अहिले प्रहरीको भूमिका अझै बढेको छ । कोरोनाको कहर बढेसँगै प्रहरीलाई अपराधिक गतिविधिभन्दा भीड नियन्त्रणमा ध्यान दिनुपरेको छ । केही दिनअघि भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीले प्रदर्शन नै गरेका थिए । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीला हम्मेहम्मे भयो । क्वारेन्टाइनमा बसेका नेपालीहरुको भागाभाग हुँदा पनि प्रहरी नै भीड नियन्त्रणमा खटिनुपरेको थियो ।
यस्तो परिस्थितिमा भीडभाड नियन्त्रणका लागि अग्र–पङ्क्तिमा खटिनुपर्ने सुरक्षाकर्मी आफू चाहिँ कति सुरक्षित ? मास्क र सामान्य पञ्जाले मात्रै जोखिमबाट सुरक्षित होला ? सुरक्षाकर्मी एक जनामा रोग देखियो भने अन्य व्यक्तिमा सर्नसक्ने सम्भावना अधिक हुन्छ । अहिले जस्तोसुकै परिस्थितिमा पनि नेपाल र नेपालीको सुरक्षामा नेपाल प्रहरी खटिएको छ । यो नेपाल प्रहरीको प्रण हो, तर मनोबल बढाउने काममा नेतृत्व गम्भीर भने भएको देखिँदैन । अहिले प्रहरीको हातमा पञ्जा अनि मास्क छैन । दिनभर भोकभोकै ड्युटीमा खटिनुपरेको छ ।
प्रहरीलाई दुस्मनजस्तै ठान्ने हाम्रो समाजले कोरोना भाइरस प्रहरीका लागि मात्रै आएजस्तो गरिरहेको छ । अरु त के प्रहरीले आफुले जोखिम मोलेर समाजका अगुवा भनाउँदाहरुलाई समेत घरभित्र बस्नुपर्छ भन्दै महाभारत पढाउँदा पनि ती बुज्रुकहरुको चेत खुल्दैन । हरके मान्छे निस्किन्छन् । समाएरै लैजानुपर्ने बाध्यता हुन्छ । दूरी कायम नगर्दा जोखम बढी हुन्छ । मुलुकभर सुरक्षामा खटिएका नेपाल प्रहरीले आफ्नो सुरक्षाका लागि सेनिटाइजर र मास्कबाहेक अरू स्वास्थ्य सुरक्षामा गम्भीर भएको पाइँदैन ।
सशस्त्र प्रहरीको पनि अवस्था उस्तै छ । यस्तो परिस्थितिमा मनोबल उच्च बनाउनका लागि पनि प्रोत्साहन भत्ता दिनुपर्ने कतिपयले बताएका छन् । दिनरात सुरक्षामा खटेका प्रहरी कर्मचारीको विषयमा प्रहर िनेतृत्व, संघीय, प्रदेश र स्थानीय सरकार चुइक्कसमेत बोलेको छैन । उनीहरुको मनोबल नगिरोस् भन्नेमा तीनै तहको सरकार गम्भीर देखिँदैन । हामी घरभित्र नबस्दा भीड बढेसँगै कोरोनाको जोखिम बढेको छ भन्ने हामीमा समेत हेक्का छैन । यसले प्रहरीलाई भीड नियन्त्रणमा हम्मेहम्मे परिरहेको छ ।
सबैको भोगाई उस्तै हो, सरकारको आदेश उल्लङ्घन नगर्नुस् भनेर नजिक गएर बोल्नुपर्छ, सामान्य कपडाको मास्क लगाएर दैनिक रुपमा सुरक्षामा खटिनुपर्छ, सबै घरबासमा बसेका बेला रातदिन परिवार नभनी सडकमा खटिनुपर्छ । सुरक्षामा खटिनु प्रहरीको कर्तव्य हो । तर, सुरक्षालाई कमजोर बनाउने काममा हामी लागिरहँदा हामी समाजका असल पात्र त बन्दैनौं नी ? समाजमा हाम्रो मान सम्मान, इज्जत, प्रतिष्ठा पनि त बढ्दैन । अनि हामीले विश्वभरी फैलिएको कोरोनाका पक्षमा सडकमा किन भीड बढाइरहेका छौं ।
हाम्रो सुरक्षाका लागि खटिएको प्रहरी कर्मचारी भोको छ, पानी प्यास लागेको होला भन्ने सामान्य कुराको हेक्का राख्ने हामीसँग मन र मस्तिष्क छैन ? अनि हामी कोरोनाको जोखिमलाई थप टेवा दिन र प्रहरी कर्मचारीको मनोवल गिराउँदै सडकमा भीड जम्मा गर्नुलाई हामीले गर्व ठान्छौं । अहिले सडकमा आउनु कतिपयकोे रहर देखिन्छ । कतिपयलाई आफ्नो शान देखाउनुपर्नेछ । प्रहरी कर्मचारीलाई भने कर्तव्यसँगै बाध्यता छ । त्यसले सबैभन्दा जोखिममा त्यही प्रहरी कर्मचारी देखिएको छ ।
छिमेकी मुलुक चीनबाट करिब तीन महिनाअघि फैलिएको कोरोनाभाइरस (कोभिड–१९) ले विश्वमै महामारीको रुप लिइसकेको छ । शक्तिशाली मुलुकहरु समेत कोरोनाभाइरसबाट नराम्ररी प्रभावित भएका छन् भने ठूलो संख्यामा मानवीय क्षतिसमेत व्यहोरिरहेका छन् । कोरोनाले गर्दा विश्वको अर्थतन्त्र ध्वस्त हुनसक्ने सम्भावना बढेको छ । सबैजसो देशमा कोरोनाको आतंक एकपछि अर्को गर्दै फैलिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा हालसम्म नौं जनामा कोरोना संक्रमण भेटिइसकेको छ ।
शक्तिशाली र सम्पन्नशाली भनिएका मुलुकहरुले समेत त्यसलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा हाम्रो जस्तो गरिब मुलुकले त्यसलाई थेग्न सक्ने कुरै भएन । यद्यपि संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक प्रयास सरकारले गरिरहेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले पहिलो चरणमा चैत ११ गतेदेखि १८ गतेसम्म मुलुकभरमै लकडाउन गर्ने निर्णय गर्यो । संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले दोस्रो चरणमा चैत २५ गतेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गर्यो ।
चैत २५ गतेसम्म संक्रमितको संख्या ६ बाट एकैपटक ९ पुग्यो । सर्वसाधारण झनै त्रसित बने । सरकारले फेरि तेस्रो चरणमा वैशाख ३ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गर्यो । यतिबेला नेपाल लकडाउनको तेस्रो चरणमा छ । चैत १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै लकडाउनको बेला अत्यावश्यक कामबाहेक कसैलाई घरबाट बाहिर ननिस्कन आग्रहसमेत गरिसकेका छन् । प्रधानमन्त्री ओलीको यस्तो आग्रहले नछुने सीमित पेशाकर्मीमध्ये सुरक्षाकर्मी पनि एक हो ।
लकडाउनले लगभग देश नै ठप्प हुँदासमेत सुरक्षाकर्मी अनवरत ड्युटीमा खटिएका छन् । ड्युटीको शैली परिवर्तन भएको छ, तर जिम्मेवारी उस्तै हो, देश र जनताको रक्षा गर्ने । यही क्रममा कोरोना संक्रमणबाट आम सर्वसाधारणलाई जोगाउने उद्देश्यले लागू भएको लकडाउन पालनामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । लकडाउन उल्लंघन गर्दै हिँड्नेको संख्या दिनानुदिन बढ्दो रहेको नेपाल प्रहरीको तथ्याङ्कले जनाएको छ । लकडाउनलाई व्यवस्थित बनाउन राज्यका तीनवटा सुरक्षा निकाय सक्रिय रुपमा लागेका छन् ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी फिल्डमै खटिएर लकडाउनको व्यवस्थापन गरिरहेका छन् । सामाजिक दूरी नै कोरोना संक्रमणबाट बच्ने र बचाउने सर्वोत्तम उपाय रहेको भए पनि सुरक्षाकर्मीले सामाजिक दूरी पालना गर्न पाएका छैनन् । आम जनतालाई सामाजिक दूरी पालना गराउनका लागि सुरक्षाकर्मी आफ्नो व्यक्तिगत सुरक्षाकोसमेत परवाह नगरी ड्युटीमा खटिएका देखिन्छन् । शहरका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुले लकडाउनको बेला घरबाट बाहिर निस्कनेलाई रोक्दै आफ्नो सीप र अनुभव साटिरहेका छन् ।
त्यस्तै नेपाली सेनाका सिपाहीहरु पनि लकडाउनको समयमा सडकमा देखिएका छन् । सुरक्षाकर्मीको खटाइले लकडाउन सफल भइरहेको छ । अहिले सुरक्षाकर्मीको मनोवल बढाउन एकदमै आवश्यक छ । सुरक्षाकर्मीको मनोबल उच्च गराउन विश्वमा प्रयोग गरिएको प्रोत्साहन भत्ता पनि आवश्यक छ । तर, नेपालमा भने यसतर्फ तीन तहको सरकारले चासो देखाएको छैन । यसको ठीक उल्टो जोखिमपूर्ण अवस्थामा सुरक्षामा खटिएको प्रहरी कर्मचारीको तलब काट्ने विषयले मनोबल खस्किएको छ ।
सडकमा सवारी रोक्ने, पास चेक गर्ने काम गरिरहेका छन् । पास नलिएका सवारीलाई नियन्त्रणमा लिने काम पनि उनीहरुले गरिरहेका छन् । यसक्रममा सयौं व्यक्तिसँग उनीहरुको साक्षात्कार हुन्छ । तर, उनीहरु आफैं सुरक्षित छैनन् । सतर्कताका लागि आवश्यक सामग्री छैन । एक हिसाबले भन्ने हो भने कोरोना भाइरस फैलिन नदिन लकडाउन कार्यान्वयनमा खटिएका उनीहरु आफैं कोरोनाको उच्च खोखिममा छन् । जबकी अरुलाई सुरक्षा दिने सुरक्षाकर्मी पहिला आफै सुरक्षित हुनुपर्ने हो ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउन कार्यान्वयन गर्न सुरक्षाकर्मी दिनरात खटिएका छन् । कोरोना रोकथामका लागि लकडाउन गरे पनि यसलाई कार्यान्वयन गराउन सुरक्षाकर्मी खाली हात सडकमा खटिएका छन् । न उनीहरुसँग गुणस्तरीय मास्क छ, न त पन्जा नै । केहीले मेडिकल ग्लोब्स लगाएका छन् भने केही खाली हात सडकमा उत्रिएका छन् । उनीहरुसँग हात पुछ्ने स्यानिटाइजर समेत छैन । यस्तो जोखिमपूर्ण अवस्थामा तलब कट्टा गर्नु सुरक्षामा खटिने प्रहरी कर्मचारीका लागि पेटमा बुट बजारेजस्तै भएको छ ।
कोरोना रोक्न सरकारले हाम्रो सुरक्षाको ख्यालै नगरी खटाएको छ । दिनहुँ सयौं व्यक्तिसँग सम्पर्क हुन्छ, १० रुपैयाँको मास्क लगाएर प्रहरी कति दिन कसरी सुरक्षित हुन्छ ? उनीहरुसँग हात सफा गर्न स्यानिटाइजरसम्म छैन । जबकी कोरोना संक्रमण हुन नदिन हात सफा गरिरहनुपर्छ । धुनका लागि पानी छैन । ज्वरो नाप्ने यन्त्र पनि छैन । जोखिम मोलेर चुनौतीको सामना गरिरहेका छन् । कोरोनाको संक्रमणको खतरा फिल्डमा खटिएका प्रहरी कर्मचारीलाई मात्रै नभएर कार्यालय र ब्यारेकमा पनि उत्तीकै छ ।
अझ केही जवान त ड्युटी सकेर घर तथा कोठा जाने गर्छन् । यसबाट उनीहरुको परिवार समेत जोखिममा छ । प्रहरीसँग पनि आवश्यक सुरक्षित मेडिकल सामग्री नहुँदा जोखिम उच्च छ । लकडाउन कार्यान्वयनमा खटिनुका साथै कसैको मृत्यु भएमा मुचुल्का गर्ने, शव उठाउने र अन्य अनुसन्धानमा समेत प्रहरीलाई अफ्ठ्यारो छ । हामीसँग यी र यस्ता थुप्रै कुराहरुको पूर्वतयारी छैन । स्ट्यान्डर्ड मास्क, ग्लोब, पीपीई नहुँदा नहुँदा जोखिम छ । कोही मान्छे मर्यो भने शवको जाँच तथा मुचुल्का गर्न जोखिम छ ।
किनकी कोरोनाबाट मरेको होइन भन्ने ग्यारेन्टी प्रहरीसँग हुँदैन । शव हेरेर मुचुल्कामा सबै लेख्नुपर्छ । यहाँ पनि रिक्स छ । सुरक्षित सामग्री नहुँदा सुरक्षाकर्मीका ब्यारेक नै उच्च जोखिममा छन् । यस्तो विषम परिस्थितिमा कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरक्षाकर्मीहरु दैनिक १८ घन्टासम्म खटिएका छन् । उनीहरुका लागि न त खाजा छ, न त प्यास मेटाउनका लागि पानी नै छ । प्रोत्साहन भत्ताको सट्टा उल्टो तलब समेत काट्ने निर्णय उनीहरुका लागि घुँडामा बञ्चरो हानेजस्तै भएको छ ।
विपदको बेला काम पनि धेरै गर्नुपर्ने र उनीहरुकै तलब पनि काट्ने निर्णयको प्रहरीमा असन्तुष्टि देखिएको छ । यस्तो अवस्थामा तलब कटौती होइन, सतप्रतिशत भत्ताको व्यवस्था जरुरी थियो, खाजा भत्ताको आवश्यकता थियो । प्यास मेटाउनका लागि पानी चाहिएको थियो । सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु आवश्यक थिए । तर त्यसतर्फ न त प्रहरी नेतृत्वले नै ध्यान दिन सक्यो । न त संघीय, प्रदेश र स्थानीय तहले नै ध्यान दिन सकेका छन् । अहिलेको एउटै प्रश्न हो, कोरोना संक्रमणको भुङ्ग्रोमा पनि प्रहरी भोकभोकै हुनुपर्ने हो ?
काशीराम शर्मा ।