सूचनाको शक्ति - The Power Of Information

        

देवर विदेशबाट आएपछि भाउजूको सुत्केरी गराइएन

गुल्मी । गुल्मीमा एक स्वास्थ्य संस्थाले सुत्केरी व्यथा लागेकी महिलाको उपचार नगरेको खुलेको छ । सुत्केरी व्यथाले थलिएकी महिलाको देवर विदेशबाट आएको भन्दै स्वास्थ्य संस्थाले फर्काइदिएको परिवारले आरोप लगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा रहेको वामी स्वास्थ्य चौकीले महिलालाई फर्काएको स्थानीयले समेत बताएका छन् ।

मुसिकोट नगरपालिका ७ सेराकी धनीकला रानाले आफ्नी बुहारी सीतालाई वामी स्वास्थ्य चौकीमा लैजान फोन गरेकी थिइन् । तर स्वास्थ्य चौकीमा कोरोना भाइरस संक्रमण परीक्षणको काम भएकाले नल्याउन भनिएको धनीकलाले बताइन् । धनीकलाका अनुसार तीन दिन अघिदेखि सीतालाई प्रसूति व्यथा लागेको र घरमै सुत्केरी गराउन कोसिस गरिए पनि सम्भव भएको थिएन ।

१६ गते स्वास्थ्य चौकीमा लैजाने तयारी गर्दा स्वास्थ्य संस्थाले नल्याउनू भनेको उनले बताइन् । स्वास्थ्य संस्थाले नै पाल्पा लैजान भनेपछि सीतालाई पाल्पा लगिएको उनले बताइन् । वामी स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम केसीले भने कोरोनाको बढ्दो जोखिम र स्वास्थ्य चौकीमा पर्याप्त स्वास्थ्य सामग्री नहुँदा सुत्केरी गराउन नल्याउन भनिएको बताए ।

यता मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले भने सीताका देवर विदेशबाट आएका भन्दै स्वास्थ्य चौकीमा जोखिम बढ्ने भएकाले आफूहरुले सुविधासम्पन्न अस्पतालमा लैजान भनिएको दाबी गरे । उनले गाउँको स्वास्थ्य चौकी सबै उपकर नहुने र देवर तत्कालै विदेशबाट आएका कारण अन्य केही समस्या देखापरेमा पनि राम्रो पठाइएको बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०८:०२