सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट पूर्वगोर्खा सैनिकको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना भाइरसरबाट एक जना नेपालीको निधन भएको छ । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको हो । ५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।

नेपालको पर्वत स्थायी घर भई लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोर्खा सैनिक गुरुङ १४ दिनदेखि कोरोनाबाट थला परेका थिए । गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले शोक व्यक्त गरेको छ । यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक संखुवासभाका लीलाबहादुर राई र चितवनका व्यवसायी प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०७:५०