सूचनाको शक्ति - The Power Of Information

        

क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संङ्कलन गरिँदै

बझाङ । बझाङ जिल्लाका ३१ ओटा स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको कोरोना संक्रमण भए नभएको पत्ता लगाउन स्वाब संङ्कलन गर्न थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमणको चेकजाँचका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले चेकजाँच सुरु गरेको हो ।

प्राविधिक स्वास्थ्यकर्मीहरुले बुधबारबाट जिल्लाको जयपृथ्वी नगरपालिका, सुर्मा, दुर्गाथली, खप्तडछान्ना र तलकोट गाउँपालिकामा स्वाब संकलन गरिएको स्वास्थ्यकर्मी नारायण जोशीले बताए । उनका अनुसार क्वारेनटाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा स्वाब संक्रकलन गरि धनगढी पठाउने काम भैरहेको समेत जोशीले बताए ।

उनका अनुसार विभिन्न ठाउँमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले २३ जनाको स्वाब संकलन गरिसकेको छ । जिल्लाका ३१ ओटा स्थानमा रहेका क्वारेन्टाइन स्थलमा महिला ९ बालबालिका ५ पुरुष ३१० गरि ३२४ जना मानिसहरु अन्य जिल्ला तथा विदेशबाट आएका व्यक्तिहरु रहेका छन् ।

जिल्ला अस्पताल सिमखेतका डा.सन्दिप ओखेडाले क्वारेन्टाइनमा राखेका सबै ३२४ जनाकै स्वाब परिक्षण गरेर मात्र घर पठाउने माथिल्लो निकायले निर्देशन गरेको हुँदा त्यहि अनुसार सबैको स्वाब परिक्षण गरिने बताए । उनले यसका लागि आवश्यक किटको अभाव भएकाले पनि परिक्षणमा ढिलाइ भएको बताए ।

कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा राख्नुपर्ने प्रावधानअनुसार क्वारेन्टाइनमा बसेकाहरुको छिटो छरितो स्वास्थ्य परिक्षण गरेर घर फिर्ता गर्नुपर्ने वा थप उपचारका लागि सम्बन्धीत ठाउँमा पठाउनुपर्ने क्वारेन्टाइनमा बस्दै आएका रोशन सिंहले बताए । सरकारले देशभर लागु गरेको लकडाउन बझाङमा पनि थप कडाइ गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०६:५२