बाँके । कोरोना संक्रमणको दर नेपालमा पनि विस्तारै बढ्दै गएको छ । तर, जिल्ला स्वास्थ्य कार्यालय बाँकेको निर्देशनलाई यहाँका स्थानीय तह अन्तरगतका स्वास्थ्य शाखाले नै लत्याएका छन् । यसरी स्वास्थ्य कार्यालयको निर्देशन लत्याएर चुपचाप रहँदा बाँकेका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन् ।
स्वास्थ्य कार्यालयले यहाँका सबै पालिका अन्तरगतका स्वास्थ्य शाखालाई पालिकास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षाणका लागि नमूना पठाइदिन निर्देशन गरेको जनस्वास्थ्य बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् । तर, बाँकेका अधिकाशः स्थानीय तहले हालसम्म पर्याप्त स्वाब नपठाएको उनले बताए ।
‘नमूना पठाउन निर्देशन दिएका छौं । नगर र गाउँपालिकाले नमूना नपठाएसम्म हामीले परीक्षणका लागि के पठाउनु ? हाम्रो निर्देशन अनुसार नमूना नै समयमै पठाउँदैनन् त हामीले के गर्नु ?’ उनले भने, ‘पालिकाले पठाएको स्वाब हामीले समन्वय गरेर काठमाडौं पठाइदिने हो । यसका अलवा केही गर्न सकिदैन । पालिकाबाट जनस्वास्थ्यसम्म नमूना ल्याउने काम पालिकाहरूकै हो ।’
तर, यहाँका पालिकाले स्रोत साधनको अभावमा स्वास्थ्य कार्यालयसम्म पनि स्वाब पठाउन नसकेको बताउँदै आएका छन् । यसले क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परिक्षण हुन सकेको देखिदैन् । बाँकेमा रहेका आठवटा स्थानीय तहमा दर्जनबढी क्वारेन्टाइन निर्माण गरिएका छन् । यी क्वारेन्टाइनमा दुई सयबढी नागरिकलाई राखिएको छ । तर, उनीहरूको नियमित स्वास्थ्य परीक्षण भने हुन सकेको छैन ।
कतिपय नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण बीनै घर फर्काउने गरिएको छ । यसले झनै कोरोना संक्रमणको जोखिम देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २१ दिनसम्म पनि कोरोनाको लक्षण देखिन सक्छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा अहिले पनि १३६ जना रहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख एमडी मोइन खान बताउँछन् ।
उनकाअनुसार क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्यकर्मीले विहान बेलुका सामान्य ज्वरो जाँच गर्ने गरेका छन् । नरैनापुरबाट नमूना लिएर नेपालगन्जस्थित स्वास्थ्य कार्यालयमा जानका लागि स्रोत साधन अभाव छ । उनले भने, ‘जनस्वास्थ्यले कुनै चासो देखाएको छैन । स्रोत साधन पनि दिएको छैन । हामीले कसरी परीक्षणका लागि नमूना पठाउने ?’ उनका अनुसार नरैनापुरबाट अहिलेसम्म एउटा पनि नमूना परीक्षणका लागि गएको छैन ।
बाँकेको कोहलपुर नगरपालिकाका साथै राप्तीसोनारी, जानकी, डुडुवा, बैजनाथ गाउँपालिकामा पनि उस्तै समस्या छ । कोहलपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा अहिले चार रहेको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमूख डिल्लीराज पोखरेलले बताए । उनकाअनुसार कोहलपुरबाट अहिलेसम्म एउटा पनि परीक्षणका लागि नमूना काठमाडौं गएको छैन । उनले भने, ‘स्रोतसाधनको अभावमा अधिकाशं व्यक्तिको स्वास्थ्य परीक्षण पनि हुन सकेको छैन ।’
स्थानीय तहहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परिक्षणका लागि समयमा नमूना नपठाउँदा कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख दलबहादुर राना पालिकामा ३० जना क्वारेन्टाइनमा रहेको बताउँछन् । उनी भन्छन्, ‘जनशक्ति र स्रोत साधनको अभावले नमूना संकलनमा अप्ठारो परिरहेको छ । एउटै नमूना संकलन गर्न दुई दिनसमेत लागेको छ ।’
जानकीबाट अहिलेसम्म चारवटा नमूना पठाएकोमा सबै नगेटिभ नै आएको उनले बताए । राप्तीसोनारीमा अहिले २४ जना नागरिक क्वारेन्टाइनमा छन् । समस्या अन्य पालिकाको जस्तै छ । यहाँ उनीहरूको नमूना परीक्षणका लागि कुनै प्रयास भएको छैन । यतिसम्मकी उनीहरूको स्वास्थ्य जाँचसमेत नियमित हुन सकेको छैन । ‘तापक्रम लिने गरिएको छ,’ राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख बिष्णुप्रसाद चुडालीले भने ।
उनका अनुसार राप्तीसोनारीबाट परीक्षणका लागि हालसम्म नमूना पठाइएको छैन । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट हालसम्म ५१ वटा नमूना परीक्षणका लागि पठाइएको स्वास्थ्य शाखा प्रमूख रामबहादुर चन्द बताउँछन् । उनका अनुसार बाँकेको कोहलपुर नगरपालिकासहितका ६ वटा गाउँपालिकामा भारतबाट आउनेको संख्यालाई हेर्दा क्वारेन्टाइनमा राखिएको र नमूना परीक्षणका लागि पठाइएका संख्या एकदमै न्यून देखिएको छ ।
स्वास्थ्य शाखाका प्रमुख चन्दका अनुसार बाँकेको समग्र जनसंख्यालाई हेर्दा कोरोना संक्रमणको जोखिम यसरी देखिएको अवस्थामा अहिलेसम्म केही नभएर ५०० बढी नमूना परीक्षणका लागि पठाइसक्नुपर्ने हो । तर, बाँके जिल्लाबाटै अहिलेसम्म ६० जनाको हाराहारीमा मात्र परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । उनकाअनुसार जनसंख्याको आधारमा यो संख्या एकदमै न्यून हो ।
सरकारले क्वारेन्टाइनमा रहेका सबैको नियमित स्वास्थ्य जाँच गर्ने, त्यसको रेकर्ड राख्ने तथा १४ दिन पुगिसकेपछि घर जान दिने व्यवस्था गरेको छ । घरजान लाग्दा पनि क्वारेन्टाइनमा रहेका ब्यक्तिको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने ब्यवस्था छ । यस्तो व्यवस्था गर्दासम्म पनि बाँके जिल्लाका विभिन्न स्थानीय तहमा रहेका दुई दर्जन बढी क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य जाँच गर्न सम्बन्धित पालिकाले अटेरी गरिरहेका छन् ।
सत्यपाटी ।