सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : लगानीकर्ता निराश

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । कोरोना भाइरसले गर्दा बिश्व अर्थतन्त्र तहसनहस भएको छ । त्यसबाट नेपाल र अझ पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्ज अछुतो रहने कुरै भएन । होटल एवं पर्यटन व्यवसाय नराम्रो गरी प्रभावित भएका छन् भने उद्योगहरु ठप्प छन् । देखिने र नदेखिने नोक्सानीको हिसाव किताव गरि साध्य छैन् ।
यतिबेला नेपालगन्जको निरासामा उत्साह थप्ने लगानीकर्तालाई कोरोनाले निरास पक्कै बनाएको छ । बिश्वभरका नागरिक यतिबेला यो विपद्को अवस्था चाँडै अन्त्य भएर पुरानै दैनिकी फेरी शुरुवात हुनेमा आशा र बिश्वास व्यक्त गरिरहेका छन् । नेपाली अर्थतन्त्रले पनि यस्तै आशा गरिरहेको छ ।
नेपाली अर्थतन्त्रमा महत्वपूर्ण हिस्साका रुपमा रहेको प्रमूख शहर नेपालगन्जको औद्योगिक क्षेत्र कोरोनाका कारण शिथिल बनेको छ । पश्चिम नेपालको ‘ट्रान्जिट’का रुपमा स्थापित नेपालगन्जले राजनीतिक आरोहअवरोह व्यहोर्दै आए पनि आर्थिक क्षेत्रमा आफुलाई स्थापित गर्न सफल भइरहेको छ ।
राज्य पुनःसंरचनामा आमूल परिवर्तन हुँदा अन्य ठाउँमा बेग्लै उत्साह थपे पनि नेपालगन्ज भने असन्तुष्ट नै छ । राज्य पुनःसंरचनाले बाँकेलाई अझ धकेलेको महसुस गर्नेको कमी छैन । राजनीतिक शक्ति क्षयकरण हुँदा त्यहाँको आर्थिक क्षेत्र प्रभावित नहुने कुरै भएन । नेपालगन्जले अहिले कतै न कतै त्यो नैराश्यता महसुस भइरहेको छ ।
तर यस्तो निरासाबीच नेपालगन्जलाई उत्साह थप्दै करोडौं लगानीको थप्नेहरु पनि छन् । ठुला औद्योगिक समूहको आकर्षण बढेको छ । प्रादेशिक राजधानी नबन्ने हो भने जिल्लाको सदरमुकाम नेपालगन्जलाई ‘पश्चिम नेपालकै आर्थिक राजधानी’ बनाउनुपर्छ भनेर उठेका आवाजलाई उद्योग सञ्चालनमा आकर्षण थपिएपछि सशक्त बनाएको देखिन्छ ।
यद्यपी कुनै नीतिगत निर्णय बिना उद्योगको संख्या बढेकै आधारमा ‘आर्थिक राजधानी’ बनिहाल्छ भन्ने चाही होइन । त्यसका लागि सुरुवात भने पक्कै भएको छ । प्रशासनिक र राजनीतिक शक्ति गुमाउँदा पीडाबोध गरिरहेको नेपालगन्जका लागि उद्योग, कलकारखाना खोल्न क्रम बढ्दै जानुले उत्साह भने थप्ने छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक र मुहत्वपूर्ण कुरा रहेको बताउँछन् । उनी भन्छन्, ‘बाँके लगानीका लागि उर्बर ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’ उद्योग बिभागका अनुसार २०४७ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग थपिएका छन् ।
पछिल्लो समय मात्र बाँकेमा उद्योग संचालनका लागि जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग इण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोवाइल नेपाल प्रालिको सर्भिस सेन्टरले उद्योग बिभागबाट दर्ता अनुमति लिए । तीमध्ये अधिकांस उद्योग सञ्चालनको प्रक्रियामा छन् ।
पर्यटन क्षेत्रमा उल्लेखिय बृद्धि भएको छ । सिद्धार्थ समूहको पहिलेदेखि उत्साहजनक लगानी भइरहेका बेला होटल सोल्टी, सेन्ट्रल प्लाजा, सिटी प्यालेस, सिग्नेट, गोल्डेज ब्लिज जस्ता होटल भित्रिए । देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनी सञ्चालन भइ उत्साहजनक तरिकाले सन्चालन भइरहेको छ । यसले नेपालगन्जको चमक बढाएको छ ।
रुपैडियाका कारण नेपालगन्जको बजार सुक्यो भन्ने र केही सम्भावना छैन भन्दै निरासा व्यक्त गर्नेलाई भाटभटेनीले पाठ सिकाएको छ । तीन वटा त फनपार्क नै स्थापना भएका छन् । द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनःस्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतिमा अघि बढेको अध्यक्ष मन्सुरी बताउँछन् ।
स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनले भने, ‘तर विश्वभर फैलिएको कोरोना संक्रमणले औद्योगिक क्षेत्रलाई पूर्णरुपमा शिथिल बनाइदियो ।’
बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा नयाँ ठाउँ भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए ।
‘अहिले अवस्था सुध्रिएको थियो । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘यो वातावरणलाई सधैं यस्तै बनाइराख्न जरुरी छ । उद्योगीलाई कोरोना संक्रमणले नराम्ररी प्रभावित गरिदियो ।’ संघीयतापछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके नै रहेको उनको भनाई छ ।
ती दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नैपर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिकजसो हरेक उत्पादनको बजार क्षेत्र बढ्दै गएको छ । विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ ।
पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनुभन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाइदा हुने भएकाले यहाँ उद्योगी स्थापना गर्ने क्रम बढेको शिखर प्लाइउडका सञ्चालक चम्पालाल बोथ्राले बताए ।
ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘सहजरुपमा जग्गा प्राप्त गर्न सकिने भएकाले पनि बाँकेमा लगानीकर्ताहरु थप आकर्षित भएका छन्,’ उनले भने । अन्य ठाउँभन्दा यहाँ सहजरुपमा जग्गा उपलब्ध हुने उनको भनाई छ ।
भारतसँंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेका छन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल सञ्चालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग सञ्चालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखिन्छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ । यसले आगामी दिनमा नेपालगन्जलाई आर्थिकरुपमा बलियो बनाउने उत्साह थपेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् ।
‘कोरोनाले यहाँका उद्योगी व्यवयासीलाई शिथिल बनाएको छ । जतिसक्यो छिटो कोरोना संक्रमणको अन्त्य भएर नेपालगन्जको अर्थतन्त्र पुरानै लयमा फर्किने आशामा छौं,’ महासचिव ओलीले भने । कोरोना संक्रमणले निरासा थपे पनि चाँडै यो संक्रमणको अन्त्य हुनेमा उद्योगी, व्यवसायी ढुक्क रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १४:४८