सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा पाइलटको तलब कटौती

काठमाडौं । कोरोना संकटका कारण उड्डयन क्षेत्र नै संकटमा परेपछि नेपाल वायुसेवा संचालक संघले पाइलट, इन्जिनियर र कर्मचारीको तलब भारी कटौतीको निर्णय गरेको छ । संघको सोमबार बसेको बैठकले तलब कटौतीको निर्णय गरेको हो । यो निर्णय बाध्यकारी भने नभएको संघको जिकिर छ ।

कम्पनीको वित्तीय अवस्था हेरेर तलब कटौतीको निर्णय गर्नसक्ने संघका अध्यक्ष रामेश्वर थापाले बताए । यो निर्णयले सबैभन्दा बढी पाइलट र इन्जिनियर प्रभावित हुनेछन् । थापाका अनुसार फिक्सविङ तर्फका पाइलटको मासिक तलब एक लाख रुपैयाँ र इन्जिनीयरको तलब ७५ हजार रुपैयाँ कायम गर्न सकिनेछ ।

उनका अनुसार हेलिकोप्टर अर्थात रोटर विङमा कार्यरत पाइलटको तलब एक लाख २५ हजार रुपैयाँदेखि एक लाख ७५ हजार रुपैयाँसम्म कायम गर्न पाइनेछ । हेलिकोप्टरमा कार्यरत इन्जिनियरको मासिक तलब ७५ हजार रुपैयाँ कायम गर्न कम्पनीले पाउने छन् । कोरोनाअघि विभिन्न वायु सेवा कम्पनीले पाइलटलाई मासिक पाँच लाख रुपैयाँभन्दा बढी तलब दिने गरेका थिए भने इन्जिनियरको तलब डेढ लाख रुपैयाँभन्दा माथि थियो ।

‘वर्तमान अवस्थालाई मध्यनजर गर्दै हामीले बेसिक स्ल्याबमा केन्द्रित रही जनशक्तिको पारिश्रामिक निर्धारण गरेका छौं । यो बाध्यकारी छैन । वायु सेवा कम्पनीले आफ्नो आवश्यकता अनुसार स्ल्याबमा केन्द्रित रही आफना कर्मचारीलाई पारिश्रमिक दिन सक्नुहुनेछ,’ अध्यक्ष थापाले भने ।

भारतको इन्डिगोले आफ्ना पाइलट खोस्न थालेपछि बुद्ध एयरले डेढ वर्षअघि तलब दोब्बर बनाएको थियो । कम्पनीका वरिष्ठ पाइलटले ४० घण्टा जहाज उडाउँदा खुद तलब ४ लाख रुपैयाँ, ६० घण्टा उडाउनेले पाँच लाख रुपैयाँ पाइरहेका थिए भने ८० घण्टा उडाउने पाइलटले साढे ६ लाख पाउने गरेका थिए ।

यस्तै फिक्सविङ्स तर्फको यति एयरलाइन्सले समेत यही आधारमा पाइलटलाई तलब दिइरहेको छ । आन्तरिक हवाई उड्डयन क्षेत्रमा तेस्रो अपरेटर श्री एयरलाइन्सले पनि यतिकै पाइलटलाई बढी तलब दिएर आफ्नोतर्फ आकर्षित गरेको थियो । यो आधारमा श्रीका पाइलटले पनि पाँच लाख भन्दा बढी नै तलब पाइरहेका थिए ।

कोभिड–१९ का कारण सेवा नै ठप्प भएपछि विभिन्न वायुसेवा कम्पनीले प्राय कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको संघका महासचिव मनोज कार्कीले जानकारी दिए । ‘लक डाउन हुनुअघि नै स्टोल रुटतर्फका फिक्स विङ र रोटर विङतर्फको व्यवसायमा प्रभाव परेपछि जहाज ग्राउण्डेड गराइएको थियो । अब लकडाउन खुलिसकेपछि पनि यी सँगै ट्रंक रुटको उडान पनि प्रभावित हुने देखिन्छ,’ महासचिव कार्कीले भने ।

संघले विभिन्न वायु सेवा कम्पनीका फिक्सविङ तर्फ कार्यरत कर्मचारीको तलब स्ल्याबअनुसार कटौतीका लागि गत मार्च ३ तारिखमै निर्णय गरेको थियो । रोटर विङ (हेलिकोप्टर) तर्फ कार्यरत कर्मचारीको तलब कटौतीका लागि सोमवार निर्णय गरेको हो ।

संघका अनुसार २० हजार रुपैयाँ पारिश्रामिक लिने कर्मचारीको तलबलाई यथावत राखेर ३० हजार, ३० देखि ५० हजार, ५० हजार रुपैयाँदेखि एक लाख, एक लाखभन्दा बढी तलब पाउने जनशक्तिको क्रमशः १०, २०, ३० र ५० प्रतिशतका दरले तलबमा कटौती गर्ने निर्णय गरेको थियो ।

‘यो चैतको तलब वैशाखमा दिइँदैछ । यो निर्णय बाध्यकारी बनाइएको छैन । तर, कुनै पनि कम्पनीले आफ्नो वित्तीय अवस्थालाई हेरेर यो सीमासम्म रहेर तलब वितरण गर्न सक्नेछन्,’ उनले भने, ‘व्यवसाय नै ठप्प हुँदा व्यवसायीले यही तलब पनि कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छन् ।’

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १०:३७