सूचनाको शक्ति - The Power Of Information

        

चिडियाघरको बाघ पनि ‘कोरोना संक्रमित’ !

बीबीसी । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो ।

अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बताइएको छ । चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ ।

चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले बताएको छ । यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको थियो । अहिलेसम्म जनावरबाट यो भाइरस मानिसमा सर्न सक्छ भन्ने कुनै आधार फेला परेको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १०:२३