सूचनाको शक्ति - The Power Of Information

        

कानुन मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनको अनुमगन

जुम्ला । जुम्लाका स्थानीय तहले तयार गरेका क्वारेन्टाइनको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सोमबार यहाँको गुठिचौर, तातोपानी र तिला गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमन गरेका छन् ।

अस्पताल परिचालन तथा समन्वय समितिको बैठक र विपत व्यवस्थापन समितिको बैठकका लागि जुम्ला पुगेका मन्त्री भण्डारीले कोराना भाइरसको संक्रमण हुन नदिनको लागि जिल्लामा भइरहेका क्रियाकलापका बारेमा समेत जानकारी लिएका छन् । कोराना भाइरसको संक्रमण रोक्न सबै निकायले उच्च सतर्कता अपनाउनको लागि मन्त्री भण्डारीले यहाँका सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।

क्वारेन्टाइन अनुगमनका क्रममा मन्त्री भण्डारीले क्वारेन्टाइनको भरपुर प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘कोराना भाइरसका कारण विश्व संकटमा छ । कोराना भाइरसको संक्रमणबाट मुक्तिका लागि भए पनि जिल्ला बाहिरबाट आउनेलाइ उच्च निगरानीमा राखौँ । आफु सुरक्षित बनौँ । अरुलाइ पनि सचेत गरौँ ।’ कर्णाली प्रदेश सरकार कोरानाबिरुद्धको अभियानमा कडा प्रतिरोधमा उत्रिएको भन्दै सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न कर्णालीबासीलाइ आग्रह गरे ।

अहिले स्थानीय तहले निर्माण गरेका क्वारेन्टवाइन सन्तोषजनक भएको प्रतिक्रिया दिदै मन्त्री भण्डारीले कोराना संक्रमणको रोकथामका लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । जुम्लाका एक नगरपालिकासहित सात वटा गाउँपालिकामा क्वारेन्टाइन छन् । यहाँका क्वारेन्टाइनमा २४१ बेड तयार गरिएको छ । ‘क्वारेन्टाइन जेल होइन, सुरक्षा गृह हो । क्वारेन्टाइनमा बस्दैमा सामाजिक प्रतिष्ठा पनि गुम्दैन्,’ मन्त्री भण्डारीले भने, ‘आफु पनि बचौँ, अरुलाइ नि बचाऔँ ।’

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले तिला गाउँपालिकाले भारत र अर्को मुलुकबाट आएका नागरिकलाई यहाँको सीता माध्यमिक विद्यालयको रारा, कुडारीको जोगीबाँडा र घोडेसिममा क्वारेन्टाइन तयार गरेको अध्यक्ष योगीले बताए । क्वारेन्टाइनमा बसेकालाई मंगलबार जुम्ला सदरमुकाम खलंगामा कोभिड १९ को नमुना स्वाब संकलन गर्न लगिने अध्यक्ष योगीले जानकारी दिए । अनुगमनमा तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा र वडाध्यक्ष प्ररबहादुर रावतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १७:०६